विदेशी मुद्राको सञ्चिती २२ खर्ब नाघ्यो
सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिती २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । यो गत असारको तुलनामा ९.४ प्रतिशतले बढी हो।काठमाडौं, मंसिर ४ : मुलुकको विदेशी विनिमय सञ्चिती असोजसम्म २२ खर्ब नाघेको छ।
सोमबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार विदेशी मुद्राको सञ्चिती २२ खर्ब ३२ अर्ब २८ करोड पुगेको छ । यो गत असारको तुलनामा ९.४ प्रतिशतले बढी हो।
प्रतिवेदनका अनुसार ०८१ असार मसान्तसम्म विदेशी मुद्राको सञ्चिती २० खर्ब ४१ अर्ब १० करोड बराबर थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा १९ खर्ब ८८ अर्ब छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति २ खर्ब ४४ अर्ब २७ करोड पुगेको छ।
यस्तै, नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति ०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रहेकोमा असोज मसान्तमा ७.५ प्रतिशतले वृद्धि भई १९ खर्ब ८८ अर्ब पुगेको छ ।
हाल कायम रहेको विदेशी मुद्रा सञ्चितिले तीन महिनाको आयातलाई आधार मान्दा १७.६ महिनाको वस्तु आयात र १४।६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
गत असोज मसान्तमा विदेशी विनिमय सञ्चितीको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३९.१ प्रतिशत, १२१.९ प्रतिशत र ३०.९ प्रतिशत रहेको छ। २०८१ असार मसान्तमा उक्त अनुपातहरु क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।