अराजकतालाई मलजल गर्ने मिडियालाई कारवाही गर्ने काउन्सिल अध्यक्ष बस्नेतको चेतावनी
सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’काठमाडौं, कात्तिक १४ : प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले अराजकतालाई मलजल गर्ने कुनै पनि मिडियालाई कारवाहीको दायरा ल्याउने चेतावनी दिएका छन् ।
सामाजिक सद्भाव बिथोल्ने, जातीय विद्वेश फैलाउने गरी जानीजानी गलत सूचना सम्प्रेषण गर्ने केही मिडियालाई कानुनी कारवाही गरिएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले भने, ‘समाजमा अन्योल सृजना गरी प्रणालीमाथि धावा बोल्ने काम कहीँ कतैबाट भइरहेको हुन सक्छ । त्यस्ता गलत पात्र र प्रवृत्तिबाट मिडिया हमेशा जोगिनुपर्छ । काउन्सिलले केही मिडियालाई कारवाही गरिसकेको छ । बाँकी पनि छानवीन र कारवाहीको दायरामा आउनेछन् । ’
नयाँ खुलेका अनलाइन सञ्चारमाध्यमका सम्पादक, सञ्चालकहरूलाई मंगलबार काउन्सिलमा राखिएको अभिमुखिकरण कक्षामा बोल्दै उनले पत्रकार आचारसंहिता उल्लङ्घन गर्नु प्रेस स्वतन्त्रताको दुरुपयोग हुने भएकाले जिम्मेवारीपूर्ण ढंगले पत्रकारिता गर्न सबैलाई आग्रह गरे । ‘केही मिडियाबाट एकपक्षीय भनाइ, पूर्वाग्रही अभिव्यक्ति, तथ्यहीन आरोप सुनियोजित ढङ्गले आइरहेका छन् । समाज बिथोल्न सकिन्छ कि भनेर त्यसरी आइरहेका सामग्रीप्रति काउन्सिल सचेत छ र आवश्यक कानुनी कारवाही भइरहेको छ’, अध्यक्ष बस्नेतले भने ।
प्रेस काउन्सिलले २ साता अघि मात्रै पत्रकारिताको आवरणमा गलत काम गर्ने ४३ वटा युट्युब माध्यमलाई कानुनी कारवाहीका लागि नेपाल प्रहरीको साइबरव्यूरो पठाएको थियो । केही सञ्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही बढाइरहेको छ । अध्यक्ष बस्नेतले डिजिटल दुनियाँमा अहिले फस्टाइरहेका अनलाइन र युट्युब सञ्चार माध्यमहरू कुनै स्वार्थ समूहबाट प्रयोग हुनबाट हमेशा ख्याल गर्नुपर्नेमा विशेष जोड दिए ।
‘पत्रकारिताका आफ्नै मूल्य, मान्यता र सिद्धान्त छन् । विश्वव्यापी मान्यता बोकेका आचारसंहिता छन् । तिनलाई कुल्चेर मनलाग्दी सुचना सम्प्रेषण गर्नु पत्रकारिता क्षेत्रको बद्नामी मात्र होइन समाज भड्काउनु समेत हो’, बस्नेतले भने ।
यसैबीच, काउन्सिलमा पत्रकारद्वय केशवशरण लामिछाने र विजयराज अधिकारी बोर्ड सदस्य नियुक्त भएका छन् । दुवै सदस्यले मंगलबार काउन्सिलमा आयोजित एक कार्यक्रममा अध्यक्ष बस्नेतबाट शपथ लिई कामको सुरुवात गरेका छन् ।