Kathmandu Press

अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबिच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

वैज्ञानिक प्रमाण र खोज–अनुसन्धानका आधारमा वेदवेदान्त वा अध्यात्मलाई विज्ञानसँग जोडेर हेर्नु औचित्यपूर्ण हुने र अध्यात्मप्रति नयाँ पिँढीलाई आकर्षित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिएको आयोजकले बताएका छन् ।
अक्षरा स्कुलमा `जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त–विज्ञानबिच संवाद´ विषयक अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

बिहीबार, कात्तिक ८ : ‘जीवनको उत्पत्ति र क्रम विकासमा वेदान्त र विज्ञानबिच संवाद’ विषयक प्रथम अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

मंसिर ८ र ९ गते काठमाडौंको कागेश्वरी मनोहरा–९, काँडाघारीस्थित अक्षरा स्कुलमा सो सम्मेलन हुन लागेको सम्मेलनका आयोजक आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभा र सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठान नेपालले जनाएका छन्।

Hardik ivf

वैज्ञानिक प्रमाण र खोज–अनुसन्धानका आधारमा वेदवेदान्त वा अध्यात्मलाई विज्ञानसँग जोडेर हेर्नु औचित्यपूर्ण हुने र अध्यात्मप्रति नयाँ पिँढीलाई आकर्षित गर्ने लक्ष्यका साथ सम्मेलन आयोजना गर्न लागिको आयोजकले जानकारी गराए।

आध्यात्मिक संस्कृति तथा विज्ञानका लागि श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले भौतिक जगतको सुख क्षणिक रहने तर आध्यात्मिक सुख कहिल्यै नमेटिने भएकाले सो शाश्वत सत्यको जागरण गराई नेपाललाई अध्यात्मको अन्तर्राष्ट्रिय केन्द्र बनाउन आफूहरू लागि पर्ने प्रतिबद्धता जनाए। साथै उनले सम्मेलनमा यी विषय उठाई अन्तर्क्रिया गर्ने तयारी भइरहेको जानकारी दिए।

सम्मेलनमा नेपाल, भारत, अमेरिकालगायत विभिन्न देशका २० जनाभन्दा बढी प्रतिष्ठित आध्यात्मिक चिन्तनका अभियन्ता, गुरुहरू र वैज्ञानिकहरुले आ–आफ्नो मन्तव्य राख्नुका साथै कार्यपत्र पेस गर्ने कार्यक्रम रहेको छ।

सम्मेलनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको विशेष सहयोग रहने सनातन अध्ययन तथा अनुसन्धान प्रतिष्ठानका अध्यक्ष प्राध्यापक डा. मोहन खरेलले जानकारी गराए। उनका अनुसार उक्त सम्मेलनमा सम्बद्ध विज्ञहरूसहित करिब तिन सय जनाको सहभागिता रहने अनुमान गरिएको छ।

सम्मेलनमा  डा. भक्ति विज्ञान मुनि महाराज, संहिताशास्त्री अर्जुन बास्तोला, वरिष्ठ न्युरोलोजिस्ट डा. जेपी अग्रवाल, प्राध्यापक डा. मोहनप्रसाद खरेल, प्राध्यापक डा. रजनी मल्ल, प्राध्यापक डा. रामेश्वर अधिकारी, सहप्राध्यापक डा. गोपीचन्द्र काफ्ले, सहप्राध्यापक डा. निर्मलमणि अधिकारी, सहप्राध्यापक डा. चित्रबहादुर बानियाँ, उपप्राध्यापक डा. दीपेन्द्र पराजुली र सहप्राध्यापक डा. गोविन्दशरण उपाध्याय, प्राज्ञ भरत गिरी, डा. भुवनेश्वरी राव र श्रीपद कृष्ण केशव प्रभु, डा. सुमंगलादेवी दासीले कार्यपत्र पेस गर्नुहुने श्रीचैतन्य सारस्वत सभाका अध्यक्ष स्वामी राममणि नेपालले जानकारी दिए।

आयोजक संस्थाद्वारा हिन्दु धर्म र संस्कारको वैज्ञानिक आधार विषयमा यसअघि सन् २०१५ र सन् २०१७ मा पनि साइन्स एन्ड साइन्टिस्ट अन्तर्राष्ट्रिय सम्मेलन गरिएको थियो।

प्रकाशित मिति: १५:३५ बजे, बिहीबार, कात्तिक ८, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्