बाढीको महिना दिनसम्म पनि खण्डहर रहेको रोशी, हेर्नुस् ५० तस्वीरमा
बाढी पहिरोको चपेटमा परेको रोशी कलाती क्षेत्र अहिले पनि लयमा फर्किन सकेको छैन।काठमाडौं, कात्तिक ७ । गत असोज दोस्रो साता चार दिनसम्म लगातार भएको वर्षाले बागमती प्रदेशमा सबैभन्दा ठूलो क्षति पुर्यायो।
बागमती प्रदेशमध्ये पनि काभ्रे जिल्लामा सबैभन्दा बढी क्षति भयो। बाढी पहिरोमा परेर त्यहाँ ७७ जनाको मृत्यु भएको थियो।
काभ्रेको पनौती नगरपालिकामा मात्रै १८ जनाले ज्यान गुमाए। रोशी गाउँपालिका, बेथानचोक र तेमाल गाउँपालिकामा १२–१२ जनाको मृत्यु भएको थियो।
बाढी पहिरोले कतिको छानो उजाडियो, कति वस्ती खण्डहर बन्यो।
भौतिक क्षति रोशीमा सबैभन्दा बढी भएको थियो।
रोशी कलाती क्षेत्रको एउटा वस्ती नै बाढीले बगाएको थियो।
कलातीका मात्रै ५० वटा घर लेदोसहितको बाढीले बगाएको थियो। त्यतिमात्रै होइन कुलोदेखि सडक र खेतीयोग्य जमिन समेत बाढीले बगायो।
रोशीको शीरमा रहेका १० भन्दा बढी खानी र क्रसरका कारण त्यहाँका बासिन्दाले अकल्पनीय क्षति ब्यहोर्नुपरेको बताइन्छ।
बाढी पहिरोको चपेटमा परेको रोशी कलाती क्षेत्र अहिले पनि लयमा फर्किन सकेको छैन।
बाढीले बांगाटिंगा घरहरू उस्तै छन्। कुनै घर मा बाढीले थोपरेका गेग्रानको पहाड ठाउँठाउँमा छ। सडकको अवस्था विकराल छ। ठाउँठाउँमा भासिएका सडक अझै बन्न सकेका छैनन्। क्षतिग्रस्त रोशी पूर्ववत अवस्थामा फर्काउन निकै समय लाग्ने बताइएको छ।
सरकारले विपदपछिको उद्धार, राहत र पुननिर्माणमा सक्रियता नदेखाउँदा आफूहरू समस्यामा परेको स्थानीयको भनाइ छ।
५० तस्वीरमा हेर्नुस् रोशीको अवस्थाः
सबै तस्बिरः नेपाल न्युज बैंक ।