Kathmandu Press

मीनबहादुर गुरूङबाट जग्गा दान लिएकोमा विरोध गर्ने नेताहरूलाई एमालेले सोध्यो स्पष्टीकरण

पार्टी नीतिको विरोध गर्ने उपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण
मीनबहादुर गुरूङबाट जग्गा दान लिएकोमा विरोध गर्ने नेताहरूलाई एमालेले सोध्यो स्पष्टीकरण

काठमाडौं, कात्तिक ४ ।  नेकपा (एमाले)ले भवन निर्माणका विषयमा असहमति राख्ने तीन जना नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

आइतबार साँझ बसेको सचिवालय बैठकले मीनबहादुर गुरूङबाट जग्गा लिने निर्णयको विरोध गर्ने नेताहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

स्पष्टीकरण सोधिएकाहरुमा स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोधेको हो।

पार्टीको विभिन्न नीतिबारे सार्वजनिक रूपमै आलोचना गर्दै आइरहेका पूर्वउपाध्यक्ष भीम रावललाई पनि स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

उनीहरूलाई पार्टी निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकोमा कारबाही गरिएको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।

गुरूङले एमालेको केन्द्रीय कार्यालय भवन बनाउन काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित मित्रनगरमा जग्गा दान दिएका थिए।

त्यहाँ दसैँको अष्टमीका दिन प्रधानमन्त्री केपी शर्मा ओली र मीनबहादुर गुरूङले पार्टी कार्यालय भवनको शिलान्यास गरेका थिए।

एमालेले पार्टी कार्यालय भवन बनाउनका लागि भनेर कार्यकर्ताहरूसँग पनि यसअघि नै पैसा उठाएको थियो।

बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाले बैठकमै र सार्वजनिक मञ्चहरूमा पनि पार्टी कार्यालय भवन बनाउन व्यापारीबाट जग्गा दानमा लिने अवस्थामा एमाले नपुगेको बताएका थिए।

प्रकाशित मिति: १९:५६ बजे, आइतबार, कात्तिक ४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्