अमेरिकामा कोरोनाबाट ३० हजार भन्दा बढीको मृत्यु
काठमाडौं, वैशाख ४ : अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको छ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक....

काठमाडौं, वैशाख ४ : अमेरिकामा कोरोना भाइरस (कोविड–१९) बाट ३० हजार भन्दा बढीको मृत्यु भएको छ। अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार अमेरिकामा यो भाइरसको कारण मृत्यु हुनेको संख्या ३० हजार ८३२ जना पुगेको छ।
यो तथ्यांक नेपाली समयानुसार बिहीबार बिहानसम्मको हो। त्यसैगरी अमेरिकामा अहिलेसम्म यो भाइरसबाट संक्रमित हुनेहरुको संख्या पनि ६ लाख नाघेको छ।
कोरोना भाइरसबाट बिहीबार बिहानसम्म संक्रमित हुने ६ लाख ३७ हजार पुगेको सो युनिभर्सिटीको तथ्यांकमा उल्लेख गरिएको छ।
अमेरिकामा गएको २४ घन्टामा अहिलेसम्मकै सबैभन्दा धेरै नागरिकको ज्यान गएको हो। गएको २४ घन्टायता यहाँका २ हजार ४९४ जनाको यही संक्रमणबाट ज्यान गएको बताइएको छ।
प्राप्त समाचारअनुसार अमेरिकामा संक्रमित हुनेमा सबैभन्दा धेरै प्रभावित न्युयोर्कमा छन्। त्यहाँ यो भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख १४ हजार नाघेको छ।
त्यसैगरी सबैभन्दा धेरै नागरिक पनि यही राज्यका रहेका सो युनिभर्सिटीले जनाएको छ। उक्त तथ्यांकमा यो राज्यमा मात्र अहिलेसम्म १४ हजार ६४ जनाको मृत्यु भइसकेको जनाइएको छ।
त्यस्तै न्यु जर्सीमा अहिलेसम्म ३ हजार १५६ जनाको ज्यान गएको बताइएको छ। यहाँका ७१ हजार मानिस यसबाट संक्रमित भइसकेका छन् । यो राज्य न्युयोर्कपछि सबैभन्दा धेरै मृत्यु र संक्रमित हुनेमा पर्दछ।
त्यसपछि सबैभन्दा बढी प्रभावित हुने राज्य मिचिगन हो। उक्त राज्यमा अहिलेसम्म १ हजार ९२१ जनाको ज्यान गइसकेको छ। मिचिगनपछि म्यासाचुसेट्समा धेरै मानिस मरेका छन्। त्यहाँ १ हजार १०८ जनाले यो भाइरसका कारण ज्यान गुमाएका छन्।
गएको डिसेम्बर महिनाको अन्त्यतिरबाट चीनको उहानबाट निस्किएको कोरोना भाइरसको कारण अहिलेसम्म विश्वका २० लाख ६३ हजारभन्दा धेरै मानिस संक्रमित भइसकेको सो युनिभर्सिटीको तथ्यांकमा छ।
त्यसैगरी यो भाइरसको कारण अहिलेसम्म विश्वमा १ लाख ३६ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ।











