Kathmandu Press

रातारात सडकमार्गबाट पोखरा लगिँदैछ रविलाई, राजमार्गका ठाउँ ठाउँमा कार्यकर्ताको प्रदर्शन

गल्छीको अवरोध हटाएर अगाडि बढ्यो प्रहरी
रातारात सडकमार्गबाट पोखरा लगिँदैछ रविलाई, राजमार्गका ठाउँ ठाउँमा कार्यकर्ताको प्रदर्शन

काठमाडौं, कात्तिक २३ । सहकारी ठगी आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कास्कीको पोखरा लगिँदैछ।

शुक्रबार कास्की जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि कास्की प्रहरीले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई पत्राचार गरी पक्राउ गरेर कास्की पठाउन अनुरोध गरेको थियो।

त्यसअनुसार सिआइबीले लामिछानेलाई पार्टी कार्यालयबाटै पक्राउ गरेर शुक्रबार रातारात पोखरा पठाएको छ।

Hardik ivf

रवि लामिछानेकै आग्रहलाई स्वीकार गरी उनलाई स्थलमार्गबाट सिआइबीले रातारात पोखरा पठाएको हो।

रविलाई स्थलमार्गबाट पोखरा लैजाँदै गर्दा रास्वपाका कार्यकर्ताहरूले ठाउँ ठाउँमा प्रदर्शन गरी अवरोध गरेको छ।

सहज रूपमा पोखरा पुर्‍याउन राजमार्गका ठाउँ ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ।

रविलाई पोखरा लैजाँदै गर्दा धादिङको गल्छीमा प्रदर्शन भएको छ।

त्यहाँ प्रदर्शन भएपनि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएका कारण अवरोध हटाएर रवि लामिछानेलाई अगाडि लगिएको धादिङ प्रहरीले जनाएको छ।

धादिङपछि चितवनका विभिन्न स्थानहरूमा पनि रास्वपाका कार्यकर्ताहरू सडकमा भेला भएका छन्।

रवि लामिछानेलाई पोखरा पुर्‍याउन ठाउँ ठाउँमा बाक्लो संख्यामा प्रहरी परिचालन भएकाले त्यति समस्या नहुने बताइएको छ।

लामिछानेले पनि कार्यकर्ताहरूलाई संयम रहन अनुरोध गरेका थिए।

शुक्रबार बेलुका लामिछाने पक्राउ पर्दा काठमाडौंस्थित पार्टी कार्यालयमा कार्यकर्ताहरूले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरूद्ध नाराबाजी गरेका थिए।

पक्राउ परेका लामिछानेविरूद्ध सहकारी ठगी सँगै संगठित अपराधविरूद्ध पनि अनुसन्धान हुनेछ।

संगठित अपराधमा प्रहरीले लामिछानेलाई ६० दिन सम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

सहकारी ठगी प्रकरणमा रवि कास्की जिल्ला अदालतले रवि विरूद्ध मात्रै पक्राउ पुर्जी जारी गरेको भने होइन।

रवि बाहेक थप १३ जनाविरूद्ध पनि कास्की जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको छ।

पक्राउ पुर्जी जारी हुनेहरूमा सुर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा रकम लगेका विभिन्न कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछाने गोरखा मिडिया प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत एवं टेलिभिजन सञ्चालकका रूपमा रहँदा टेलिभिजनमा सहकारीबाट गैरकानुनी रूपमा रकम लगेको र उक्त रकम अपचलनमा दोषी देखिएकाले अनुसन्धान गर्न अदालतसँग पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिहरू पनि उक्त सहकारीबाट गैरकानुनी रूपमा कम्पनीमा रकम लगेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी हुनेहरूमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन्।

उनीहरू सबै सुर्यदर्शन सहकारीबाट विभिन्न कम्पनीमा रकम लगेर अपचलनमा सहभागी देखिएकाले अनुसन्धान गर्न पक्राउ अनुमति लिएको कास्की प्रहरी प्रवक्ता बसन्त शर्माले जानकारी दिए।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले गत माघमा नै रवि लामिछानेसहित १८ वटा कम्पनीहरूविरूद्ध पूरक जाहेरी दिएका थिए।

जाहेरी दिएको ८ महिनापछि मात्रै उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।

संसदीय छानबिन समितिले उनीहरूलाई कारबाही सिफारिस गरेको थियो।

प्रकाशित मिति: २२:५२ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्