Kathmandu Press

रविसहित अरू १३ जनाविरूद्ध पनि जारी भएको छ पक्राउ पुर्जी

को-को हुन् पक्राउ पुर्जी जारी भएका अरू १३ जना
रविसहित अरू १३ जनाविरूद्ध पनि जारी भएको छ पक्राउ पुर्जी

काठमाडौं, कात्तिक २ । सहकारी बचत अपचलन प्रकरणमा रवि लामिछाने पक्राउ परिसकेका छन्।

कास्की जिल्ला अदालतबाट शुक्रबार पक्राउ पुर्जी जारी भएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले शुक्रबार नै रविलाई पक्राउ गरेको हो।

उनीविरूद्ध सहकारी ठगीसँगै संगठित अपराधमा समेत अनुसन्धान हुनेछ।

Hardik ivf

सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले रवि लामिछानेबाहेक अरू १३ जनाविरूद्ध पनि पक्राउ पुर्जी जारी गरेको खुलेको छ।

पक्राउ पुर्जी जारी हुनेहरूमा सुर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा रकम लगेका विभिन्न कम्पनीका सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद लामिछाने गोरखा मिडिया प्रालिद्वारा सञ्चालित ग्यालेक्सी टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत एवं टेलिभिजन सञ्चालकका रूपमा रहँदा टेलिभिजनमा सहकारीबाट गैरकानुनी रूपमा रकम लगेको र उक्त रकम अपचलनमा दोषी देखिएकाले अनुसन्धान गर्न अदालतसँग पक्राउ अनुमति लिएको प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी भएका अन्य व्यक्तिहरू पनि उक्त सहकारीबाट गैरकानुनी रूपमा कम्पनीमा रकम लगेका व्यक्तिहरू रहेको प्रहरीले जनाएको छ।

पक्राउ पुर्जी जारी हुनेहरूमा विशाल तामाङ, नवीन अछामी, रविना रिमाल, असरफ अलि सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, रामबहादुर खनाल, देवेन्द्रबाबु राई, विज्ञान राई, ओमप्रकाश गुरुङ, विरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पना कुमारी श्रेष्ठ रहेका छन्।

उनीहरू सबै सुर्यदर्शन सहकारीबाट विभिन्न कम्पनीमा रकम लगेर अपचलनमा सहभागी देखिएकाले अनुसन्धान गर्न पक्राउ अनुमति लिएको कास्की प्रहरी प्रवक्ता बसन्त शर्माले जानकारी दिए।

पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका पीडितहरूले गत माघमा नै रवि लामिछानेसहित १८ वटा कम्पनीहरूविरूद्ध पूरक जाहेरी दिएका थिए।

जाहेरी दिएको ८ महिनापछि मात्रै उनीहरूविरूद्ध पक्राउ पुर्जी जारी भएको हो।

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा १८ हजार ७ सय जनाले बचत राखेको १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार रूपैयाँ अपचलन भएको छानबिन समितिले जनाएको छ।

संसदीय छानबिन समितिले उनीहरूलाई कारबाही सिफारिस गरेको थियो।

प्रकाशित मिति: २०:३९ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्