Kathmandu Press

रवि लामिछानेविरूद्ध दुईवटा कसुरमा पक्राउ पुर्जी, के हुन सक्छ सजाय?

प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर गर्न सक्छ अनुसन्धान
रवि लामिछानेविरूद्ध दुईवटा कसुरमा पक्राउ पुर्जी, के हुन सक्छ सजाय?

काठमाडौं, कात्तिक २ :  प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी र संगठित अपराधसहित दुई वटा कसुरमा अनुसन्धान गर्न काश्की अदालतबाट अनुमति लिएको छ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सहितका प्रहरी निकायलाई पठाएको पत्रमा सहकारी ठगी र संगठित अपराधको कसुरमा अनुसन्धान गर्ने व्यहोरा खुलाइएको छ ।

Hardik ivf

कास्की प्रहरीको पत्रमा, ‘ठगी तथा संगठित अपराध सम्बन्धी मुद्दामा अनुसन्धान गर्न लामिछानेलाई पक्राउ गरेर पठाइदिन’ भनिएको छ।

कृष्णप्रसाद जैसीसमेतको जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचन अपचलनसम्बन्धी मुद्दामा २ कात्तिकमा लामिछानेलाई पक्राउ गर्न अनुमति जारी भएको व्यहोरा समेत पत्रमा खुलाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी वसन्तकुमार शर्माद्वारा हस्ताक्षर गरिएको पत्रमा भनिएको छ, ‘पक्राउ अनुमति प्राप्त भए पश्चात निज प्रतिवादीको खोजतलास गरी फेला परेमा पक्राउ गरी यस कार्यालयमा पठाइदिनु हुन सादर अनुरोध गरिएको छ ।’ पोखराको सूर्यदर्शनसमेतका सातवटा सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा पुगेको अनुसन्धानले देखाएको छ ।

ठगीसँगै संगठित अपराध कसुर समेत जोडिएकाले लामिछानेलाई प्रहरीले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ अनुसार ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्छ।

त्यसपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय बुझाएपछि सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा लैजान्छ। 

 

प्रकाशित मिति: १८:४७ बजे, शुक्रबार, कात्तिक २, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्