Kathmandu Press

लकडाउनमा स्रष्टा : एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ

काठमाडौं, वैशाख ४ : एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद मिलेपनि मानसिकरुपमा लेखनको वातावरण भने मिलेको छैन।

लकडाउनमा स्रष्टा : एकान्तबासले मात्रै सिर्जना नहुने रहेछ

काठमाडौं, वैशाख ४ : एकान्तमा सिर्जना गर्न रमाउने स्रष्टाहरुलाई अहिलेको अनपेक्षित लकडाउनले फूर्सद मिलेपनि मानसिकरुपमा लेखनको वातावरण भने मिलेको छैन।

कोरोना भाइरस संक्रमणको माहामारीका कारण सरकारले गत चैत ११ गते लकडाउन घोषणा गरेपछि अहिले प्रायः सबै एकान्तवासमा छन्। वरिष्ठ साहित्कार सरुभक्त यतिबेला चिन्ता र चिन्तनमा आफ्नो समय व्यतित भएको बताउछन्। 'मनमा खुशी छैन, जीवनको ६ दशक बितिसक्यो, विगतका माहामारीका कुरा पुस्तकमा पढेको थिएँ,  अहिले आँखा अगाडि भोगिरहनुपरेको छ, त्यतिबेला अविकसित समाज भएर होला भन्ने एउटा भ्रम थियो, अहिले भने त्यो हट्यो।' विज्ञानको चमात्कारिक युगमा पनि माहामारीको यो अवस्थामा पुग्नु र समाधान ननिस्कनु एउटा भयावह अवस्था भएको उनको बुझाइ छ। 
  
विज्ञानसँग सम्बन्धित कथा र उपन्यास लेखिरहने स्रष्टा सरुभक्त अहिलेको परिवेशले मानव जीवनको अस्तित्वलाई नै संकटमा परेको बताउँदै भन्छन्, 'जीवन जगतको यथार्थबोधको गहिराइमा पुगेर चिन्तन गर्छु, निष्कर्ष केही भेट्दिन।' तत्काल साहित्य सिर्जनाभन्दा पनि यसको अध्ययन र चिन्तन प्रक्रियामा रहेकाले ठोसरूपमा अहिले कुनै लेखनकार्यमा तल्लीन हुन नसकेको उनको भनाई छ।

विश्वव्यापी माहामारीले मानसिकरूपमा एक प्रकारको त्रास सिर्जना गरेकाले यसको निराकरण कहिले र कसरी होला भन्ने अनेक तर्कहरु मात्रै मनमा खेल्ने गरेको उनी बताउँछन्। उपन्यास, कथा सङ्ग्रह, कविता, मुक्तक, खण्डकाव्य, नाटक गरेर करिब ४५ भन्दा बढी कृति प्रकाशित गरेका सरुभक्तलाई कोरोना प्राकृतिक भाइरस हो कि, कृत्रिम भाइरस हो भन्ने विषयले पनि सशङ्कित बनाएको बताउँछन् ।

Hardik ivf

कवि तीर्थ श्रेष्ठ कोरोना भाइरसबाट जोगिन परिवारका साथ समय बिताइरहेको बताउँछन्। ‘जिन्दगी कुरूक्षेत्रबाट’, ‘पाइलाकानिवहरुले’ (मञ्जुलसँग संयुक्त) मुक्तक सङ्ग्रहमा ‘जिन्दगीको गोधूलीमा’, ‘धर्सै धर्साको चक्रब्यूह’, ‘महाभारतका गीतहरु’ र  गीत सङ्ग्रह ‘मेरो हिमालजस्तो’ आदि कृतिका स्रष्टा श्रेष्ठ भन्छन्, 'मैले बाहिर हिँड्दा घरभित्रको धेरै कुरा ‘मिस’ गरेको रहेछु, लकडाउनले परिवारको साथ र सामिप्यताको महत्वलाई उजागार गरायो, अहिले बगैँचाका फूल र भान्छामा श्रीमतीको दैनिकीसँग म पनि जोडिएको छु, फरक अनुभूति गरेको छु।' 

उनले साहित्य सिर्जना एकान्तवासले मात्र सम्भव नहुने र सबैभन्दा पहिला स्वस्थ मानसिकता जरुरी रहेछ भन्ने अनुभव भएको जनाउँदै उनी भन्छन्, 'अहिलेको अवस्थामा जताततै कोरोना त्रास र यसले उत्पन्न गराएको मानसिक विचलनले गर्दा यसबाट मुक्त हुने चिन्तनमा मात्र अधिकांश समय खर्च हुने गरेको छ।'

पूर्वीय दर्शन र संस्कारले सिकाएको सीप, ज्ञान, प्रविधिको प्रयोग नगर्दा र प्रकृति प्रतिकूल जीवनयापनमा मान्छे बाँच्न खोज्दा संकट देखिएकोे उनको निष्कर्ष छ। 'पुर्खाले व्यतित गरेको जीवनशैली नमस्ते गर्ने, मलामी गएर आउँदा आगो छुने, लास छोए स्नान गने लगायतका पूर्वीय संस्कार निकै वैज्ञानिक रहेछन्, हामीले अन्धविश्वास र परम्परावादी भन्दै छोड्दै गयौं,' श्रेष्ठ भन्छन, 'अहिले सामाजिक र भौतिक दूरीका कुरा, खानपान र रहनसहनका कुरामा देखिएको बन्देजले साँच्चै हाम्रा पुर्खाले जीवनलाई वास्तवमा बुझेका रहेछन्।'

लोकगायिका हरिदेवी कोइराला भने आफ्नो जीवनका पूर्वाद्धका पुराना डायरी पल्टाउँदै दिन बिताइरहेको बताउछिन्। 'पुराना डायरी पल्टाउँछु, तत्कालीन समयमा कोरिएका ती भावहरुसँगै घोत्लिन्छु, कति लेख्दालेख्दै छोडेका छन्। कति लेखिएका, तर बाहिर नआएका रचनाहरु छन्, अहिले सिर्जनालाई काँटछाँट गर्दै परिमार्जन गर्दै समय सदुपयोग गरेकी छु।'

‘पाइनँ खबर...’ बोलको गीतका गायिका कोइराला यतिबेला प्रकृतिसँग रमाउन पाएको अनुभव सुनाउछिन्।'सधैँ कोलाहलको बीचमा बाँच्नुपरेको परिवेशमा यतिबेला प्रकृतिको स्वच्छतासँगै चराचुरुङ्गीका चिरवीर आवाजले मनलाई शान्त बनाएको छ भने आफ्नै जीवनलाई गहिरोसँग बुझ्ने अवसर पनि दिलाएको छ।'बेला–बेला बढ्दो सङ्क्रमणका समाचार पढिरहँदा भने समस्याको समाधान कहिले होला भन्ने चिन्ताले पनि उनलाई सताउने गरेको छ।
 
युवा साहित्यकार सरस्वती प्रतिक्षालाई भने यो लकडाउनले खासै असर पारेको छैन। 'म स्वभावैले एकान्तप्रेमी हुँ, साहित्य सिर्जनाका लागि केही समय अघिदेखि एक प्रकारले लकडाउनकै स्थितिमा बसेकी थिएँ। त्यो हिसाबले यो लकडाउनले मलाई त्यतिबिघ्न गाह्रो महसुस भइरहेको छैन तर बाध्यात्मक लकडाउनले मानसिकरुपमा चाहिँ निकै ‘डिष्टर्ब’ गर्दोरहेछ।' 

‘यद्यपि प्रश्नहरु’ ‘बिम्बहरुको कठघरा’, ‘बागी सारङ्गी’ र ‘नथिया’ कृतिका स्रष्टा प्रतिक्षाले सिर्जनासँग तल्लीन हुन मानसिक स्वस्थताको अपरिहार्यताले गर्दा अहिलेको कोरोना कहरको विषम परिस्थितिमा आफूलाई योग र ध्यानमार्फत आफूलाई संयम र सन्तुलित बनाएर सिर्जनात्मक काममा डुबिरहेकी बताउछिन्।रासस

प्रकाशित मिति: १२:३९ बजे, बिहीबार, वैशाख ४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्