Kathmandu Press

बार अध्यक्ष घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश

सर्वोच्चको आदेश- कारबाही गर्नुनपर्ने कारण भए प्रमाणसहित ७ दिनभित्र लिखित जवाफ पेस गर्नू
बार अध्यक्ष घिमिरेलाई ७ दिनभित्र जवाफ पेस गर्न सर्वोच्चको आदेश

काठमाडौं, कात्तिक १ । अदालतको अवहेलना गरेको आरोपमा मुद्दा चलाइएका नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेलाई लिखित जवाफ पेस गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

घिमिरेविरूद्ध दायर अवहेलना मुद्धामा विहीबार भएको प्रारम्भिक सुनुवाइपछि सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र कुमार चूडालको संयुक्त इजलासले घिमिरेलाई अवहेलनामा कारबाही गर्नुनपर्ने कारण भए सबुत प्रमाणसहित ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो।

सर्वोच्चले आफै वा आफ्नो कानुन बमोजिमको प्रतिनिधिमार्फत जवाफ पेस गर्न आदेशमा भनेको छ । दसैंअघि सर्वोच्चका उपरजिष्ट्रार गोविन्द घिमिरेले बार अध्यक्ष घिमिरेविरूद्ध अदालतको अवहेलनासम्बन्धी मुद्दा दर्ता गरेका थिए।

वरिष्ठ अधिवक्ता समेत रहेका बार अध्यक्ष घिमिरेविरुद्ध तत्कालीन प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले लेनदेनका आधारमा तथा आफूले लिएको हिसाबकिताब मिलान गर्नको लागि न्यायाधीश सिफारिस गरेको आरोप लगाएको भन्दै अवहेलनामा कारबाहीको माग गरिएको थियो।

अदालतको अवहेलना आरोपमा घिमिरेलाई अदालतमा झिकाएर बयान गराई कारबाही गर्न उपरजिष्ट्रार घिमिरेले माग गरेका थिए।

कारण देखाऊ आदेशपछि अब यस मुद्दामा बार अध्यक्ष घिमिरेले लिखित जवाफ पेस गरी तारिखमा बस्नुपर्ने छ ।

प्रकाशित मिति: १७:३९ बजे, बिहीबार, कात्तिक १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्