Kathmandu Press

'श्रीमान् रूसमा बेपत्ता भएको वर्षदिन भयो, फोनको घन्टी बज्नासाथ झस्कन्छु'

'फोन आउँदा श्रीमानले गर्नुभयो कि भनेर झस्किन्छु'
'श्रीमान् रूसमा बेपत्ता भएको वर्षदिन भयो, फोनको घन्टी बज्नासाथ झस्कन्छु'
रूसी सेनामा भर्ती भएकाहरूलाई फिर्ता गर्न माग गर्दै युवाहरूले गरेको प्रदर्शन। फाइल तस्वीर।

गण्डकी, असोज ३०। रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन्।

श्रीमान् बेपत्ता भएपछि यतिखेर उनको सिङ्गो परिवार समस्यामा परेको छ।

घरकै मुख्य संरक्षक सम्पर्कविहीन भएपछि पुर्ख्यौली स्थान छोडेर पाँचजनाको परिवार पोखरा–१६ बाटुलेचौरमा कोठा भाडा लिएर बस्दै आएको छ। जुनसुकै समयमा फोनको घण्टी बझ्दा पनि श्रीमानकै फोन आयो कि भन्ने कुराले इन्दिरालाई बारम्बार झसंग बनाउँछ। आफू उच्चरक्तचाप र मधुमेहको  तथा कान्छो छोरा मुटुको रोगी नियमित औषधि सेवन गर्नुपर्दा आर्थिक अभावसँगै श्रीमान् बेपत्ता भएपछिको पीडाले इन्दिराको शरीरसमेत दिनप्रतिदिन कमजोर बन्दै गएको छ।

Hardik ivf

‘निःशुल्क टिकट र राहदानीमा दुबई जानका लागि गत असोज ३० गते घरबाट बिदा भएर निस्कनुभयो, काठमाडौँमा पुगेपछि दलालको प्रलोभनमा परेर रसिया पुग्नुभएछ, मंसिर १३ गते अन्तिम सम्पर्क भएको थियो त्यसपछि कुनै जानकारी आएको छैन,’ इन्दिराले भनिन्।

‘रसिया पुगेपछि उहाँले भन्नुहुन्थ्यो पहिलो क्याम्पमा राम्रो सुविधा थियो र दोस्राो क्याम्पमा सारेपछि खानको समेत समस्या परेपछि दिदी राजकुमारी थापाले १३ हजार पठाई दिनुभयो,’ इन्दिराले अगाडि भनिन्। 

रसियामा पुगेको डेढ महिनासम्म सम्पर्क भएको थियो युद्धरत क्षेत्रमा पुगेपछि कुनै पनि सम्पर्क नभएको इन्दिरा बताउँछिन्। ‘मुटुको रोगी कान्छो छोरा कक्षा २ मा पढ्छ, अस्पतालले शल्यक्रिया गर्नुपर्ने भनेको थियो आर्थिक अभावको कारण उपचार गर्न सकिएको छैन अहिले नियमित औषधि खुवाउन सके त मुस्किल परेको छ। विद्यालयमा साथीको बाबा मोटरसाइकलमा लिन आउँदा कान्छो छोराले घरमा आएर बारम्बार बाबा मलाई स्कुलमा लिन कहिले आउनुहुन्छ भनेर सोध्छ मसँग उत्तर छैन,’ उनले भनिन्।

सात वर्षीय छोरोको उपचारसहित परिवारको खुसीका लागि ज्यानको जोखिम मोलेर रसियाका तर्फबाट युक्रेनको युद्धरत क्षेत्रमा पुगेका अहिले सम्पर्कविहीन हुँदाको पीडा छँदैछ त्यसमा पनि रसिया जाँदा आठ लाख ऋण लागेको उनको भनाइ छ।

सशस्त्र प्रहरीमा छ वर्ष सेवा गरेका ४२ वर्षीय ज्ञानबहादुर परिवारको सुखका लागि साउदीलगायत विभिन्न तीन देशमा पुगेका थिए तर पनि बर्मा गयो कर्मसँगै भने जस्तै सोचेजस्तो आम्दानी नभएपछि रसिया गएका थिए।

सानो छोरा सौरभ, ठूलो छोरा निरज, बुहारी गङ्गा र छोरी अमृतासहित पाँचजनाको परिवार रहेको छ। छोराबुहारीले मजदुरी गरेर ल्याएको रकमले पाँच हजार घरभाडा तिर्ने गरेको छ।

दसैँको पर्वका अवसरमा खर्च नभएपछि विरौटामा रहेका काकासँग तीन हजार मागेर ल्याएको इन्दिराले बताइन्। ‘बर्दियाबाट आउँदा ल्याएको चामलले अहिलेसम्म जेनतेन जीवन निर्वाह भएको छ,’ उनले भनिन्।

रसियन राजदूतावासबाट डिएनए परीक्षणका लागि बोलाएपछि ज्ञानबहादुरको दिदी राजकुमारी थापा भदौको ३० गते काठमाडौं गएकी थिइन्।

उनी पोखराको रत्नचोकमा रेष्टुरेन्ट व्यवसाय सञ्चालन गर्दै आएकी छन्।

‘भाइ आउने आश अझै मरेको छैन,’ मुलुकमा रोजगारी अभाव तथा न्यून पारिश्रमिक भएको कारण विदेसिने सयौँ नेपाली एकाएक रुस युक्रेन युद्धमा होमिइन पुगेका परिवारले बेपत्ताको सार्वजनिक, सम्पर्कमा रहेकाको उद्धार गर्न सरकारको ध्यानाकर्षण गर्न काठमाडौँमा आयोजित कार्यक्रममा समेत सहभागी भएको उनको भनाइ छ।

बिचल्लीमा परेको परिवारलाई आर्थिक सहयोग

रसियामा अभिभावक बेपत्ता भएपछि बिचल्लीमा परेको परिवारका लागि पोखरा–१७ आँखा अस्पतालमा सञ्चालित पुनः डिपोले आर्थिक सहयोग गरेको छ। विभिन्न समाचारमा प्रकाशित समाचारका आधारमा डिपोका तर्फबाट पाँच हजार पाँच सय सहयोग गरिएको हो।

पोखरा–१६ बाटुलेचौरस्थित निवासमा पुगेर डिपोका प्रमुख हिमलाल पुनले इन्दिरा थापामगरलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।

निर्माण सामग्री बिक्रीबाट भएको आम्दानीले पीडित परिवारलाई सहयोग गर्ने अवसर प्राप्त गरेकामा आत्मसन्तुष्टि भएको बताउँदै आगामी दिनमा पनि सहयोग गर्ने पुनले प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: १८:०६ बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्