Kathmandu Press

हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह

मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्दै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैँ तयार रहेको बताए।
हेटौँडास्थित कीटजन्य रोग नियन्त्रण केन्द्रको स्तरोन्नतिका लागि स्वास्थ्यमन्त्रीको आग्रह
फाइल तस्बिर।

काठमाडौं, असोज ३० : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले हेटौँडास्थित विश्व स्वास्थ्य सङ्गठनको कीटजन्य रोग नियन्त्रण अनुसन्धान तथा तालिम केन्द्रको स्तरोन्नति गरी क्षेत्रीय अनुसन्धान केन्द्रका रूपमा विकास गर्न आग्रह गरेका छन्।

जर्मनीको बर्लिनमा आयोजित विश्व स्वास्थ्य शिखर सम्मेलनमा सहभागी हुन त्यहाँ पुगेका उनले डब्लुएचओका महानिर्देशक डा टेड्रोस गिब्रिएसस्सँगको भेटमा यस्तो आग्रह गरेका हुन्।

Hardik ivf

मन्त्री पौडेलले नेपाल मात्र नभएर दक्षिणपूर्वी एसियाकै अनुसन्धान केन्द्रका रूपमा विकास गरी लाभ लिन सकिने भन्दै यसका लागि गर्नुपर्ने सहजीकरणका लागि नेपाल सधैँ तयार रहेको बताए।

जवाफमा महानिर्देशक टेड्रोसले नेपालले सङ्गठनको स्वास्थ्य लक्ष्य पूरा गर्न महत्वपूर्ण योगदान दिएको चर्चा गर्दै मन्त्री पौडेलले राखेको प्रस्तावमा आफू सकारात्मक रहेको बताएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वय महाशाखा प्रमुख डा भीम सापकोटाले जानकारी दिए।

सम्मेलनका क्रममा मन्त्री पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग पनि भेटवार्ता गरे। त्यस अवसरमा उनले बालबालिकामा हुने क्यान्सरसँग जुध्नका लागि नेपालले प्रयास गरिरहेको र यस कार्यमा आवश्यक खोप सहयोगका लागि आग्रह गरे।

मन्त्री पौडेलले डेङ्गीलगायत छ प्रकारका खोप निःशुल्क उपलब्ध गराउन उहाँमार्फत विश्व समुदायको ध्यानाकर्षण गराए।

यसैगरी उहाँले जर्मनीका सङ्घीय स्वास्थ्यमन्त्री कार्ल लउटरबचसँगको भेटवार्ताका क्रममा  नेपालले डिजिटल स्वास्थ्यमार्फत स्वास्थ्य सुधार कार्यलाई अगाडि बढाउने बताए।

जर्मन स्वास्थ्यमन्त्री कार्लले जर्मन अन्तर्राष्ट्रिय सहायता एजेन्सीमार्फत नेपाललाई दिन लागिएको करिब ३० मिलियन युरो स्वास्थ्य सहायताको प्राथमिकताबारे जिज्ञासा राखेका थिए।

प्रकाशित मिति: ०६:४० बजे, बुधबार, असोज ३०, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्