Kathmandu Press

गौशाला धर्मशालाको मोहीयानी हक नलाग्ने कोषको भनाई, महानगरले माग्यो सुरक्षा

मारबाडी सेवा समितिलाई शटर भाडामा लगाउन अधिकार नभएपनि भाडामा लगाइएको भन्दै कोषले आपत्ति समेत जनाएको छ।
गौशाला धर्मशालाको मोहीयानी हक नलाग्ने कोषको भनाई, महानगरले माग्यो सुरक्षा

काठमाडौं, असोज २९ : पशुपति क्षेत्र विकास कोषले गौशाला धर्मशाला सञ्चालनको अधिकार मारबाडी सेवा समितिलाई नभएको बताएको छ।

कोषले मंगलबार पत्रकार सम्मेलन गरी पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगर बीच यही असोज २२ गते सहमति भई महानगरलाई व्यवस्थापनको अधिकार दिएको जनाएको छ। मारबाडी सेवा समितिलाई शटर भाडामा लगाउन अधिकार नभएपनि भाडामा लगाइएको भन्दै कोषले आपत्ति समेत जनाएको छ।

Hardik ivf

पत्रकार सम्मेलनमा कोषले सर्वोच्च अदालतको फैसलाले पनि मारबाडी सेवा समितिको दाबी नपुग्ने ठहर गरेको प्रश्त पारेको छ।

मारबाडी सेवा समितिबाट वार्षिक ५१ हजार रुपैयाँ धर्मशाला सञ्चालन गरेबापत उपलब्ध गराउने दुई पक्षको सहमति भए पनि सम्झौता अनुसार रकम उपलब्ध नगराएको जानकारी पत्रकार सम्मेलनमा दिइयो । कोषले भाडादर पुनरावलोकन हुने व्यवस्था भएपनि मारवाडी सेवा समिति लागि तयार नभएको समेत बताएको छ।

मारवाडी सेवा समितिले मोहीयानी हक रहेको दाबी गरेपनि प्रमाण नपुग्ने भनाई कोषका पदाधिकारीको छ । काठमाडौं महानगरले गत २३ असोजमा मारबाडी सेवा समितिले राखेको बोर्ड हटाइसकेको छ।

यसैबीच काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालयसँग शान्ति सुरक्षा माग गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्दै महानगरले शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि आग्रह गरेको हो।

महानगरले धर्मशालाको व्यवस्थापनको जिम्मेवारी पाएको बताउँदै सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोग गरिदिन पत्रमा भनेको छ। उक्त पत्र महानगरपालिकाले पशुपति गौशालास्थित धर्मशालामा टाँसेको छ।

 

प्रकाशित मिति: २०:३० बजे, मंगलबार, असोज २९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्