Kathmandu Press

फुलपाती भित्र्याइँदै, भक्तपुरमा बुधबार नै भित्र्याइयो

फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ।
फुलपाती भित्र्याइँदै, भक्तपुरमा बुधबार नै भित्र्याइयो

काठमाडौं, असोज २४ : आज विहीबार घर घरमा फुलपाती भित्र्याइँदैछ। बडादशैंको सातौं दिन घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्राइँदैछ।

फुलपाती भित्र्याउन नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निर्धारण गरेको शुभ साइतमै फुलपाती भित्र्याइदैछ। प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमीका दिन शास्त्रीय विधिअनुसार नवपालुवा भित्राउने गरिन्छ।

घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजा कोठामा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्राउने गरिन्छ।

घर–घरमा हर्षबढाइँका साथ फुलपाती भित्र्याउँछन्। प्राचीन कालदेखि नै दरबार, कोट र घर–घरमा फूलपाती भित्र्याउने परम्परा छ। आधुनिक नेपाल निर्माणपछि गोरखाबाट फूलपाती ल्याएर हनुमानढोकामा भित्र्याउने चलन अझै कायम छ।

नवपत्रिकाको नामले समेत चिनिने फूलपाती नौवटी देवीको प्रतीकको रूपमा भित्राई शास्त्रीय विधिअनुसार शक्तिको आराधनाका साथ नौ वटै देवीको विधिपूर्वक पूजा गर्ने वैदिक विधि छ।

उता, भक्तपरका नेवाः समदायले वुधबार नै फूलपाती भित्र्याएका छन्। फूलपातीदेखि विजयादशमीसम्मको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले निकालेको साइत एवं तालिका अस्वीकार गर्दै भक्तपुरमा फूलपाती भित्र्याइएको हो।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आफ्नो नगर क्षेत्रमा २३ गते फूलपाती, २४ गते महाअष्टमी र २५ गते महानवमी मनाउन आह्वान गर्दै नगरपालिकाले बुधबारदेखि सार्वजनिक बिदा दिएको थियो।

 

प्रकाशित मिति: १३:१४ बजे, बिहीबार, असोज २४, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्