हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा
उनले हुलाक सेवामा सुधार गर्नको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
काठमाडौं, असोज २३ : सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक क्षेत्र प्रविधि र प्रतिस्पर्धाको हिसाबले कमजोर अवस्थामा रहेको बताएकी छन्।
बुधबार काठमाडौंमा १५०औं हुलाक दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले हुलाक एउटा पुरानो महत्वपूर्ण संस्था भएपनि प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण अहिले खुम्चिन पुगेको बताइन्।
‘यो एउटा पुरानो महत्वपूर्ण संस्था हो। नागरिक तहसम्म पुगेको एउटा बलियो, संयन्त्र अझै पनि रहेको छ। यद्यपि पुनसंरचनाको क्रममा केही अतिरिक्त इलाका हुलाकहरु पालिका हुलाकमा स्थानान्तर गरेका छौं,’ उनले भनिन्, ‘केही कार्यालय र कर्मचारीहरु हटेका पनि छन्। यसको काम र क्षेत्रको हिसाबले अझै पनि यो बलियो र सुदृढ संस्था बन्न सक्ने देखिन्छ । यद्यपी प्रविधिमा आएको विकास प्रतिस्पर्धात्मक क्षमता बढाउन नसकेको कारण विगतमा ठूलो कार्यक्षेत्र भएको संस्था अहिले खुम्चिन पुगेको छ।’
उनले हुलाक सेवामा सुधार गर्नको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने भन्दै त्यसको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।
‘यसको लागि ऐन, नियम र कानूनबाट केही व्यवस्था गर्नुपर्ने हुन्छ। हुलाक सेवा अब यही रुपमा रहदैँन् यसमा सुधार गर्नुपर्ने हुन्छ। कानूनी, कार्यक्रमगत संस्थागत रुपमा यसलाइ पुनः सञ्चालनमा ल्याउनुपर्ने हुन्छ । त्यही अनुसार नै हामी काम गर्ने प्रतिबद्धता जनाउन चाहन्छु,’ उनले भनिन्।
यो क्षेत्रमा देखिएको समस्या समाधान गरिमा र भूमिका बढ्नेगरी काम सम्पादन गर्ने पनि उनको भनाई छ। सरकारी सेवालाई प्राविधिक बनाइसकेको बताउँदै उनले अब हुलाकको आवश्यकता नभएको भन्ने प्रश्नलाई सम्बोधन गर्ने गरी काम गर्नुपर्ने बताइन्।









-1777267680.jpg)

