उपनिर्वाचनमा कांग्रेस–एमाले बाहेकसँग तालमेल गर्न माओवादी सर्कुलर
आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने व्यहोरा परिपत्रका उल्लेख छ ।काठमाडौं, असोज २२ : नेकपा माओवादी केन्द्रले मंसिर १६ गते हुने उपनिर्वाचनमा सत्तारुढ कांग्रेस र एमाले बाहेकका दलसँग चुनावी गठबन्धन गर्न मातहतका पार्टी कमिटीलाई सर्कुलर गरेको छ ।
माओवादी सर्कुलरमा कांग्रेस र एमालेबाहेक अन्य दलसँग सहकार्यको पहल गर्न तल्ला कमिटीलाई निर्देशन दिइएको छ । आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि एकलरूपमा चुनाव लड्ने तयारी गर्ने, यसका साथै सत्तारुढ दलबाहेकका वाम देशभक्त दलहरूसँग सहकार्यलाई अगाडि पहल बढाउने व्यहोरा परिपत्रका उल्लेख छ ।
साथै, माओवादी केन्द्रले उपनिर्वाचनको तयारीका लागि रिक्त रहेका वडाध्यक्षको उम्मेदवार छनोट दर्ता वडा पार्टीका सदस्यहरूलाई भेला गराएर सहमतिका आधारमा गर्न भनिएको छ ।
सहमति हुन नसकेको अवस्थामा बहुमतीय प्रणालीको आधारमा उम्मेदवार छनोट गरी पालिका समितिलाई सिफारिस गर्ने र पालिकाको पार्टी सहमतिले निर्णय गर्ने भनिएको छ ।, निर्णयको जानकारी कात्तिक २५ गतेसम्म प्रदेश पार्टी कार्यालय र पार्टी केन्द्रीय कार्यालयलाई अनिवार्य रूपमा लेखी पठाउन समेत भनिएको छ ।
यस्तै, जिल्ला समन्वय समिति प्रमुखका लागि पार्टी जिल्ला समन्वय समितिले सिफारिस गर्ने र प्रदेश समितिले निर्णय गर्ने भनिएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपनिर्वाचन र २०८४ को निर्वाचनमा माओवादीले एक्लै चुनाव लड्ने बताउँदै आएका थिए ।
माओवादीको सर्कुलरले समाजवादी मोर्चामा अबद्ध रहेका माओवादीसहित नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा र महेन्द्रराय यादव नेतृत्वको नेसपासँग चुनावी तालमेलको ढोका खुलेको छ ।