Kathmandu Press

८ किलो सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
८ किलो सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

मकवानपुर, असोज १९ : पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका वडा नम्बर १५, रातोमाटेबाट प्रहरीले आज बिहान लुकाइछिपाइ ल्याइएको सुनसहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिघंची थाना पुजारवाडी बस्ने वर्ष २५ का अभिषेक अजिनाथ कुटी र महाराष्ट्र राज्य सांगली जिल्ला बस्ने वर्ष २७ का राहुल भिट्टिहाल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

आज बिहान ३ बजेको समयमा पथलैयाबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटरलाई रोकी जाँच गर्ने क्रममा स्कुटर चालक अभिषेक र स्कुटरमा सवार राहुलको साथबाट आठ वटा बिस्कुटको आकारको आठ किलो २४३ ग्राम ९७० मिलिग्राम सुन बरामद भएको हो। 

उनीहरुको साथबाट बरामद भएको उक्त परिणामको सुनको मूल्य ११ करोड ४३ लाख ५७ हजार ८७८ रहेको प्रहरीले पत्रकारसम्मेलन मार्फत जानकारी गराएको थियो। 

पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाउने तयारी भइरहेको जनाइएको छ। 

प्रकाशित मिति: १३:१० बजे, शनिबार, असोज १९, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्