आफ्नो कर्तव्य भुलेको छैन : सभापति लामिछाने
सभापति लामिछानेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न आफूले सम्पूर्ण क्षमता लगाउने बताए। इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासीय नमूना विद्यालय भवन निर्माण गर्न लागिपरेको उनको भनाइ छ।
चितवन, असोज १९ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले घेराबन्दीमा रहेपनि आफूले कर्तव्य नभुलेको बताएका छन्।
चितवन निर्वाचन क्षेत्र नं २ अन्तर्गत इच्छाकामना गाउँपालिका–५ मुग्लिनमा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रममा उनले विभिन्न समस्याका बाबजुत आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि काम गरिरहेको बताए।
सभापति लामिछानेले निर्वाचनताका गरेका प्रतिबद्धता पूरा गर्न आफूले सम्पूर्ण क्षमता लगाउने बताए। इच्छाकामनामा चेपाङ बालबालिकाको शिक्षाका लागि आवासीय नमूना विद्यालय भवन निर्माण गर्न लागिपरेको उनको भनाइ छ।
‘चेपाङ बालबालिकाका लागि एउटा नमूना आवासीय विद्यालय भवन निर्माण गरी सञ्चालन गर्ने तयारीमा छौं, सकेसम्म सरकारी तवरबाट नभए अन्य ठाउँबाट स्रोत जुटाएर विद्यालय निर्माण गर्न म प्रतिबद्ध छु,’ सभापति लामिछानेले भने।
कार्यक्रममा सहभागीहरूले ग्रामीण सडक, सञ्चार, शिक्षा, ट्राफिक व्यवस्थापनलगायत क्षेत्रमा देखिएका समस्याबारे विभिन्न गुनासो राखेका थिए। कतिपयले सभापति लामिछानेसँग जोडिएको सहकारी प्रकरणबारे जिज्ञासा राखेका थिए।