Kathmandu Press

लम्बियो मनसुन, बाहिरिन अझै एक साता लाग्ने !

जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालि मनसुन बाहिरिन अझै एक साता लाग्ने जनाएको छ। सरदरमा मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख मानिन्छ।
लम्बियो मनसुन, बाहिरिन अझै एक साता लाग्ने !

काठमाडौं, असोज १७ । मनसुन बाहिरिने सरदर मिति कटिसक्दा पनि यसको प्रभाव कायम छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले यसपालि मनसुन बाहिरिन अझै एक साता लाग्ने जनाएको छ। सरदरमा मनसुन बाहिरिने मिति अक्टोबर २ तारिख मानिन्छ। यद्यपि मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझैपनि मनसुनी वायुको प्रभाव रहेको र त्यसले अझै केही दिन पानी पार्ने सम्भावना ‍औंल्याएको छ।

मनसुन बाहिरिन यसलाई स्थानीय वायुले धकेल्नुपर्छ, विस्थापित गर्नुपर्छ। तर बहिर्गमनको सरदर मिति नजिकिँदै गर्दा दुइटा प्रणालीले देशभर घनघोर वर्षा भएको थियो। गत साता बंगालको खाडीबाट पानी पार्ने बादल विकास भएर भारत हुँदै नेपाल सरेको थियो। त्यही बेला अरब सागरबाट पनि उच्च जलवाष्पयुक्त हावा भारत हुँदै नेपाल पसेपछि लगातार भारी वर्षा हुँदा त्यसले अकल्पनीय क्षति पुर्‍याएको थियो।

Hardik ivf

यसरी आएका प्रणालीहरू कमजोर हुनका लागि केही दिन लाग्ने भएकाले नेपालबाट मनसुन बाहिरिन केही ढिला हुने भएको हो।

साथै भारतको आसाम, मेघालयमा बनेको न्यूनचापीय प्रणाली अहिले नेपालको मौसममा देखिएको छ। मनसुन सक्रिय रहेकै अवस्थामा भित्रिएको त्यस प्रणालीले अहिले कोशी, बागमती र गण्डकीसम्मै प्रभाव विस्तार गरेको छ।

बिहीबार बिहान बागमती प्रदेश र पूर्वी नेपालमा  केहीबेर ठूलो पानी परेको थियो। पानी पर्ने शिलशिला केही दिन यथावत रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भोलि मनसुन केही कमजोर हुने सम्भावना छ। यद्यपि कोशी तथा गण्डकी प्रदेशका एक- दुई स्थानमा भारी वर्षाको हुने पूर्वानुमान महाशाखाले गरेको छ।

हल्कादेखि मध्यम वर्षाको सम्भावना शनिबारसम्मै छ। यसरी मनसुन बहिर्गमन हुँदा कम्तिमा असोज २१ गते सम्म लाग्न सक्ने महाशाखाले जनाएको छ।

नेपालमा यसपालि जुन १० (जेठ २८ गते) मनसुन नेपाल प्रवेश गरेको थियो। नेपालभर फैलन झन्डै दुई साता लागेको थियो। यसपटक भारतबाटै मनसुन बाहिर ढिला भएकाले नेपालमा पनि त्यसको प्रभाव परेको हो।

यसपटको मनसुनमा औसतभन्दा १७ प्रतिशत बढी पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। यसपटक पोस्ट मनसुनमा पनि औसतभन्दा बढी पानी पर्ने पूर्वानुमान छ। अघिल्लो वर्ष मनसुन, पोस्ट मनसुन र हिउँद याममा कम पानी परेको थियो।

प्रकाशित मिति: १८:५० बजे, बिहीबार, असोज १७, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्