Kathmandu Press

पश्चात्तापसहित बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने घोषणा 

बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकोमा उपरिष्ट्रार घिमिरेले पश्चाताप पनि व्यक्त गरेका छन् ।
पश्चात्तापसहित बार अध्यक्षविरुद्धको अवहेलना मुद्दा फिर्ता लिने घोषणा 

काठमाडौं, असोज १७ : सर्वोच्च अदालतका उपरजिस्ट्रार गोविन्दप्रसाद घिमिरेले नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध दर्ता गरेको अदालतको अवहेलनासम्बन्धी मुद्दा फिर्ता लिने भएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत उपरजिष्ट्रार घिमिरेले मुद्दा फिर्ता लिने जानकारीगराएका हुन्।

काठमाडौं बारको एक कार्यक्रममा बार अध्यक्ष घिमिरेले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति सिफारिसमा प्रधानन्यायाधीशले लेनदेन गरेको आरोप लगाएको भन्दै प्रशासनिक तबरबाट प्रतिवेदन उठाएर गत असोज १४ गते अवहेलना मुद्दा दर्ता गरिएको थियो। अवहेलना मुद्दाको सुनुवाइका लागि आगामी कात्तिक १ गतेका लागि पेसी समेत तय भइसकेको छ। 

बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा दर्ता गरेकोमा उपरिष्ट्रार घिमिरेले पश्चाताप पनि व्यक्त गरेका छन् । प्रधानन्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठको सर्वोच्च अदालतबाट विदाई भएकै दिन उपरजिष्ट्रार घिमिरेले सामाजिक सञ्जालमार्फत यस्ता जनाउ दिएका हुन् ।

‘म हिजोदेखि निदाउन सकेको छैन। जीवनभर प्रजातन्त्रको पछि लागियो। बा सधैँ यसकै लडाइँ लड्नुभयो, म कसैको प्यादा बन्न चाहिनँ’, उनले फेसबुकमा लेखेका छन्, ‘बार जनताको आवाज हो, लोकतन्त्रको हिमायती हो। त्यसको नेतृत्वविरुद्ध मैले अवहेलनामा दिएको प्रतिवेदन फिर्ता लिएको जानकारी गराउँछु।’ 

उनले अदालत खुल्नासाथ आफ्ना भनाइसहित मुद्दा फिर्ताका लागि औपचारिक निवेदन दिने बताएका छन्। 

प्रकाशित मिति: १४:२५ बजे, बिहीबार, असोज १७, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्