ढोरपाटनका मेयर देवकुमार नेपाली कारागार चलान
मेयर नेपालीका भाइ १ लाख ५० हजार धरौटीमा रिहाकाठमाडौं, असोज १५ : ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली कारागार चलान भएका छन्।
सहकारी ठगी अभियोग लागेका उनलाई मंगलबार जिल्ला अदालत बागलुङका न्यायाधीश रमेशकान्त अधकारीको एकल इजलासले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश गरेको हो।
अदालतको आदेशसँगै उनलाई जिल्ला कारागार बागलुङ पठाइएको प्रहरीले जनाएको छ।
मेयर नेपालीका भाइ ओमबहादुर दर्जीलाई १ लाख ५० हजार धरौद्टीमा रिहा गर्न आदेश दिएको छ।
सहकारीको बचत अपचलन गरेको आरोप लागेका मेयर नेपाली शुक्रबार भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।
उनी परिवारसहित १६ महिनादेखि फरार थिए। उनीविरुद्ध इन्टरपोलमा रेड कर्नर नोटिस जारी भएको थियो। भारतीय प्रहरीले पक्राउ गरेपछि उनलाई भारतीय कन्सुलर कार्यालयमा समन्वय गरी नेपाल ल्याइएको थियो।
उनीमाथि कास्की र बागलुङको इमेज बचत तथा ऋण सहकारी संस्थाको करिब २ अर्ब अपचलन गरेको आरोप छ।
सहकारी ठगीमा अध्यक्ष नेपालीसहित सञ्चालकविरुद्ध कास्कीका ५२४ र बागलुङका एक हजार ५४३ बचतकर्ताले गत वर्ष जेठमै उजुरी दिएका थिए। सहकारी बचत अपचलनसम्बन्धी संसदीय विशेष छानबिन समितिले पनि नेपालीलाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाउन सरकारलाई सिफारिस गरेको थियो।