Kathmandu Press

दसैंको मुखमा यात्रा कष्टकर बन्दै, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

अहिले पनि सडकमा पहिरो खस्ने र ढुंगा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए।
दसैंको मुखमा यात्रा कष्टकर बन्दै, जोखिमपूर्ण यात्रा नगर्न सुझाव

काठमाडौं, असोज १५ : वर्षाका कारण देशका अधिकांश राजमार्ग तथा सडक भत्किँदा नेपालीहरुको महान् चाड दसैंको मुखमा यात्रा कष्टकर बनेको छ। 

दसैंका लागि पोकोपुन्तुरा बोकेर आफन्तसँगै रमाइलो गरी पर्व मनाउन हिँडेका यात्रु अहिले ठाउँठाउँका सडकमा अलपत्र छन्। कतिबेला घर पुग्ने हो ठेगान छैन। विपत्तिले झ्याप्लेखोलामा आएको पहिरोमा नागरिक बिलाए झैँ हुने हो कि भन्ने त्रासमा यात्रा गर्न बाध्य छन्। 

असोज ११ गतेदेखि नै काठमाडौंको नागढुङ्गा हुँदै जाने सवारी साधन गन्तव्यमा जान सकेका छैनन्। अरनिको र विपी राजमार्ग पूर्ण रुपमा अवरुद्ध हुँदा पृथ्वी राजमार्गमा सवारीको चाप छ। 

Hardik ivf

बीचबीचमा पुनः पहिरो खस्ने क्रम जारी तथा ठाउँठाउँमा एकतर्फी सडकले जाम थपिएको छ।

सडक यात्रा जोखिमपूर्ण रहेपछि अहिले हवाई यात्रुको संख्या थेगिनसक्नु भएको छ। नारायणगढबाट बुटवल हुँदै जाने सडकको दाउन्ने खण्डमा सडक भासिएका कारण उक्त खण्ड पनि पूर्णरुपमा बन्द हुँदा सवारी साधनको चाप थपिएको छ। बिपी राजमार्ग पनि क्षतविक्षत अवस्थामा रहेको प्रहरीले जनाएको छ। 

काठमाडौं–नारायणगढ सडकका दर्जनौ ठाउँँमा भत्किएको सडक गाडीको अत्यधिक चापका कारण राम्री सवारी साधन सञ्चालन हुने गरी सडक व्यवस्थापन गर्न सक्ने अवस्थासमेत छैन। हेर्दा कामचलाउका रुपमा मात्रै यातायात सञ्चालन गरिएको छ। सामान्य पानी परेको खण्डमा यातायात पूर्णरुपमा अवरुद्ध हुने अवस्था रहेको नेपाल प्रहरीका सहायक प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।

समयमै गन्तव्यमा यातायातका साधन जान नसकेपछि यातायातको ‘चेन ब्रेक’ हुने अवस्थाले गर्दा यात्रुको चाप बढ्ने, यातायात अव्यवस्थित हुने, यात्रुको तँछाडमछाड हुने र त्यसले दसैंसम्म नै यात्रा कष्टकर हुनसक्ने देखिएको छ। यातायात व्यवस्था विभागले यही असोज १४ गतेदेखि देशभर बाटो इजाजत खुला गरेकाले अब गाडीको चाप झन् बढ्न थालेको छ। 

पानी पर्दै नपरेको खण्डमा दसैं आसपाससम्म यातायात पूर्णरुपमा सहज पार्ने प्रयास जारी रहेको गृह मन्त्रालयले जनाएको छ। गृह मन्त्रालयका प्रवक्ता, सहसचिव ऋषिराम तिवारी अहिले कसरी हुन्छ रोकिएका यातायातलाई गन्तव्यमा पुर्याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको बताउँछन्। 

‘प्राथमिकताका आधारमा अत्यावश्यक र यात्रुवाहक साधनलाई पठाउने गरिएको छ, त्यसपछि खाद्यान्न, इन्धनलगायत बोकेका अत्यावश्यक सवारी साधनलाई प्राथमिकतामा राखेर व्यवस्था भइरहेको छ,’ उनले भने।

प्रवक्ता तिवारीका अनुसार केही ठाउँमा पहिरो गएको र झ्याप्ले खोलामा पनि एकतर्फी जस्तै छ। त्यसैले समस्या भएको उनले बताए। अब दाउन्नेमा पनि एकतर्फी खुलेको र धादिङको पहिरो हटाइसकेका कारण यातायात आवागमन सहज बन्दै जाने उनले बताए। 

उनका अनुसार अहिले बिहान ११ देखि १ बजेसम्म बीचबीचमा सवारी साधन रोकेर दुईतर्फी यातायात खुलाउने गरी काम अघि बढाउने निर्णय भएको छ  अबको केही दिनमा पुरानै अवस्थामा यातायात आवागमन सहज हुनेगरी व्यवस्थापन कार्यलाई तीव्रता दिइएको उनले बताए। 

यही अवस्थामा गाडी लैजान सक्दैनौं 

नेपाल याातायात व्यवसायी राष्ट्रिय महासंका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला अब दसैँको बुकिङ नै बन्द गर्न लागिएको बताउँछन्। यो अवस्थामा कुनै हालतमा यात्रुलाई गन्तव्यमा लैजान नसकिने उनले बताए।

‘विषम परिस्थिति, वर्षालगायत कारण राज्यले व्यवस्थापन गर्न सकिरहेको छैन, विपी राजमार्ग ठप्पै छ, त्यहाँ ६०० सवारी साधन रोकिएका छन्, चालक खान नपाएको भनेर आफूलाई फोन गरिरहेका छन्,’ उनले भने, ‘दुवै पट्टि पहिरो गएर बीचमा जोखिमपूर्ण अवस्थामा गाडी अड्किरहेका छन्, हामीले खाना नै पुर्याउन सकिरहेका छैनौं, सरकारले पनि सकेको छैन, अनि कसरी चलाउन सकिन्छ गाडी?’

वरिष्ठ उपाध्यक्ष सिटौलाले नागढुङ्गाबाट बाहिर जान चार दिनअघिका गाडी बल्ल पठाइएको बताए। ‘जाम जारी छ, धादिङ र दाउन्नेमा पहिरो खसिरहेकै छ, देशभरको सडक अस्तव्यस्त भएका कारण समस्या ठूलो छ, फेरि वर्षा हुने भनिरहेको छ, बीचमा रोकिएका गाडी र यात्रु जोखिममा परे, केही भए जिम्मा कसले लिन्छ? वर्षा नहुँदा पनि सुक्खा पहिरो खसिरहेको छ,’ उनले भने, ‘यातायात रोकिँदा अब हाम्रो सबै ‘सेडुअल’ बिग्रियो, अब हामीले टिकट बुक गर्न सक्ने अवस्था छैन, यदी गाडी समयमा आउने अवस्था नरहे यात्रुका पैसा फिर्ता गर्नेछौं।’

‘अहिले घर जान हतार नगरौँ’

यातायात क्षेत्रका विज्ञ आशिष गजुरेल अहिलेको अवस्थामा यातायात सहज बनाउन सकिने अवस्था छ भने सहज बनाउने, होइन अवस्था जटिल छ भन्ने देखिएको त्यो सडक बन्द नै गरेर काम गर्नुपर्ने बताए। 

‘कहाँ–कहाँ व्यवस्थापन गर्न सकिन्छ गर्ने र सुधार गर्नसक्ने ठाउँमा सुधार गर्नुपर्छ, तत्काल व्यवस्थापन गर्न सकिँदैन भने बन्द नै गर्नुपर्छ, दसैँ छ भनेर जोखिममा यात्रा गराउनु हुन्न,’ उनले भने।

अहिले पनि सडकमा पहिरो खस्ने र ढुंगा खस्ने क्रम जारी रहेको उल्लेख गर्दै उनले सुधार गरेर सञ्चालन गर्दा जोखिम छैन भन्ने लागेको क्षेत्रमा सञ्चालन गर्ने तर सडक व्यवस्थापनमा समय लाग्ने छ भने हतार गर्न नहुने सुझाव दिए।

‘दसैंमा यात्रुको चाप छ भनेर ज्यानको जोखिम राखेर सवारी साधन सञ्चालन गर्नु भएन,’ उनले भने, ‘त्यसैगरी सञ्चालन गर्दा झ्याप्ले खोलामा त्यती ठूलो घटना भयो, गाडी नचलाउ भन्दाभन्दै चलाएका कारण झ्याप्ले खोलामा घटना भएको थाहा नै छ।’

जहाँ पनि सडक खनेको ठाउँमा सानो ठूलो पहिरो खसरिहेको र यसले जोखिम कायम छ भनेर देखाउने उनले बताए। आगामी दिनमा पनि ठूलो क्षति गराउन सक्ने उनको भनाइ छ। 

‘यो अवस्थामा जबरजस्ती गरेर घर जानलाई हतार गर्नु हुँदैन, ज्यान रह्यो भने दसैं त फेरि पनि मनाउन पाइहालिन्छ,’ गजुरेलले भने, ‘यात्रुले पनि जबरजस्ती जान नखोजौँ, सरकारले पनि जोखिम छ भनेर यकिन भएको ठाउँमा गाडी जान रोक्नैपर्छ।’ -रासस

प्रकाशित मिति: १४:०९ बजे, मंगलबार, असोज १५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्