बार अध्यक्ष घिमिरेविरूद्ध अदालतको अवहेलना मुद्दा
सुनुवाइका लागि मंगलबार पेसी तयकाठमाडौं, असोज १४ : नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरूद्ध अदालतको अवहेलनामा मुद्दा दर्ता भएको छ ।
सर्वोच्च अदालत प्रशासनले प्रतिवेदन उठाएर बार अध्यक्ष घिमिरेमाथि अवहेलनामा कारबाहीका लागि सोमबार मुद्दा दर्ता गरिएको हो । मुद्दामा सुनुवाइका लागि मंगलबार पेसी तय भएको छ ।
बार अध्यक्ष घिमिरेले गत असोज ११ गते काठमाडौं बारमा आयोजित एक कार्यक्रममा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले न्यायाधीश सिफारिसमा आर्थिक चलखेल गरेको भन्दै लगाएको आरोपलाई आधार मानेर अदालतको अवहेलना मुद्दा दर्ता गरिएको थियो।
सर्वोच्च अदालतले नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध अदालतको अवहेनामा मुद्दा चलाउने तयारी गरेपछि सोमबार अपराह्न बारको आकस्मिक बैठक बसेको थियो । बार बैठकमा नेपाल बारसहित उपत्यकाका अन्य बार एकाइका पदाधिकारी पनि संलग्न थिए । सर्वोच्च प्रशासनले प्रतिवेदन उठाएर घिमिरेविरुद्ध मुद्दा दर्ता गर्ने तयारी गरेपछि बारको आकस्मिक बैठक बसेको थियो।
सर्वोच्च अदालत स्रोतका अनुसार सोमबार सर्वोच्चमा बसेको फुलकोर्टमा बार अध्यक्ष घिमिरेका बिषयमा गम्भीर छलफल भएको थियो । फुलकोर्टमा कानुनी उपचारमा जानुपर्ने भन्दै निकालिएको निष्कर्षका आधारमा प्रशासनबाट टिप्पणी उठाएर घिमिरेविरुद्ध अवहेलना मुद्दा दर्ता गरिएको हो ।
यसैबीच न्याय परिषद्ले सोमबार एक विज्ञप्ति जारी गर्दै परिषदबाट सर्वसम्मत निर्णय भएको विषयलाई बार अध्यक्ष घिमिरेले अन्यथा अर्थ लगाएको जनाएको छ। परिषदले बार अध्यक्ष घिमिरेको भनाई कपोलकल्पित र दुरासयपूर्ण रहेको विज्ञप्तिमा उल्लेख गरेको छ।
विज्ञप्तिमा भनिएको छ, ‘घिमिरेको टिप्पणी आधारहीन कलुषित भावनाबाट ग्रसित एवं पूर्वाग्रही मनोदशाबाट गरिएको छ ।’