अवरुद्ध राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आउन समय लाग्ने
सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ।काठमाडौं, असोज १४ : शुक्रबारदेखि देशभर आएको वर्षाका कारण अवरुद्ध भएका सडकहरु खुलाउने प्रयास भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।
सहसचिव एवं प्रवक्ता सुशीलबाबु ढकालका अनुसार सडकहरु मर्मत गर्ने तथा बाढीले बगाएका पुलहरुमा अस्थायी बेलिब्रिज राख्ने काममा मन्त्रालय र सडक विभागले सक्रियता बढाएको छ।
देशको राजधानी जोडने लाइफ लाइनका रुपमा रहको मुख्य राजमार्ग नागढुङ्गा–नौविसें–मुग्लिङ सडकको झ्याप्ले खोलाको अवरोध हटाएपछि पृथ्वी राजमार्गमा सवारी यातायात संचालनमा आएको मन्त्रालयले जनाएको छ।
बीपी राजमार्गको बर्दिवासदेखि नेपालथोकसम्मको अवरोध हटाइ यातायात सञ्चालनमा आएपनि पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने प्रवक्ता ढकालले नेपाल न्यूज बैंकलाई जानकारी दिए।
टोखा–गुजें भञ्ज्याङ्ग–छहरे नुवाकोट हुँदै स्याफ्रुवेशीसम्मको सडक सुचारु अवस्थामा छभने स्याफ्रुवेशीदेखी रसुवागढी सम्मको अवरुद्ध सडक सोमबारसम्म संचालनमा आउने पनि ढकालले जनाए।
अरनिको राजमार्गको ब्राहबीसे–दोलालघाट–धुलिखेल खण्ड सोमबार साँझसम्म सञ्चालनमा आउनेगरी कार्य भइरहेको छ। तर बीपी राजमार्गको विकल्पको रुपमा मुलकोटबाट सित्खा पुलहुँदै मन्थलीसम्म जाने सडक सञ्चालनमा आएको छ। सित्खा–खाँडादेवी–गाल्वा सडक सोमबारसम्म सुचारु हुने मन्त्रालयले जनाएको छ ।
सडक विभागको तथ्यांकअनुसार आइतबार साँझसम्म १८ वटा राजमार्गका विभिन्न स्थानमा सडक अवरुद्ध भएका थिए । १७ वटा राजमार्गका ४७ स्थानमा यातायात सेवा पूर्ण टुटेको थियो भने ४०१ स्थानमा एकतर्फी मात्रै यातायात चलाउन सकिएको विभागले जनाएको छ।
पाँचवटा मोटोरेवल पुल बगाएको विभागको तथ्यांक छ। यद्यपी, २६४ वटा इक्यूपमेन्ट प्रयोग गरेर सडक मर्मत एवं उद्धार भइरहेको मन्त्रालयको दाबी छ।
चाडपर्व नजिकिएकाले सडक मर्मत, वैकल्पिक बाटो प्रयोगको विषयमा मन्त्रालय र विभागले ठूलो जनशक्ति परिचालन गरेको जनाएको छ। अविरल वर्षाका कारण देश भरका ८० वटा राष्ट्रिय राजमार्गहरु मध्ये४७ स्थानमा राजमार्गहरु पूर्ण रुपमा संचालनमा आउन समय लाग्ने देखिएको छ।