बाढीपहिरो पीडितलाई एनआरएनएले एक करोड सहयोग गर्ने
अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन्।काठमाडौं, असोज १४ : लगातारको भारी वर्षाका कारण देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट प्रभावित नेपालीलाई गैरआवासीय नेपाली संघ (एनआरएनए)ले एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ।
अध्यक्ष डा. बद्री केसीका अनुसार आइतबार भएको भर्चुअल बैठकमा संघका पदाधिकारीहरूले पहिलो चरणमा तत्काल बाढीपीडितका लागि एक करोड सहयोग गर्ने निर्णय गरेका हुन्।
बैठकले गैरआवासीय नेपाली सङ्घका उपाध्यक्ष डा हेमराज शर्माको संयोजकत्वमा उच्चस्तरीय आर्थिक सहयोग संकलन समिति गठन गरेको छ। समितिमा संकका विभिन्न पदाधिकारी, क्षेत्रीय संयोजक तथा राष्ट्रिय समन्वय परिषदका अध्यक्षहरू समावेश छन्।
पदाधिकारीको बैठकपछि राष्ट्रिय समन्वय परिषद् र अन्तर्राष्ट्रिय समन्वय परिषद्को आपतकालीन संयुक्त बैठक आयोजना गरी सहयोग संकलनमा थप छलफल गरिने जनाइएको छ।
अध्यक्ष डा. केसीका अनुसार एनआरएनएले राष्ट्रिय समितिको सहकार्यमा बाढी प्रभावित क्षेत्रमा भौतिक रूपमा उपस्थित भएर राहत वितरण गर्ने तयारी गरिरहेको छ। बैठकले वर्षाका कारण उत्पन्न विपद्का घटनामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जलि व्यक्त गर्दै, शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ।
यसैक्रममा सङ्घले प्रभावित क्षेत्रको क्षति अध्ययन गर्न काठमाडौंमा रहेका सोम सापकोटा र कृष्ण तिमल्सिनासहितको समिति गठन गरेको छ। समितिले आफ्नो प्रतिवेदन अन्तर्राष्ट्रिय परिषद् बैठकमा प्रस्तुत गर्नेछ।
बाढीपहिरोबाट काठमाडौं, भक्तपुर, मकवानपुर, ललितपुर, काभ्रे, धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, रामेछाप, नुवाकोट, पाँचथर, धनकुटा, उदयपुर, सोलुखुम्बु, इलाम, महोत्तरी र सप्तरी जिल्लाका बासिन्दा प्रभावित छन्।
महासचिव गौरीराज जोशीले संघको वार्षिक साधारणसभाको तयारीबारे पनि बैठकमा छलफल भएको जानकारी दिए। साधारणसभा आगामी कात्तिकको ११ र १२ मा काठमाडौंमा आयोजना हुँदैछ।