झ्याप्ले खोला पहिरोका प्रत्यक्षदर्शी भन्छन्- बचाउ ! बचाउ ! भन्ने आवाज आइरहेको थियो
माथिल्लो सडकको भासिएर झ्याप्ले खोलामा खसेको थियो पहिरोकाठमाडौं, असोज १४ । मौसम पूर्वानुमान महाशाखाले बुधबारदेखि आइतबारसम्म देशभर भारी वर्षा हुने पूर्वानुमान गर्यो। वर्षाले काठमाडौं उपत्यकामा धेरै क्षति पुर्याउने प्रक्षेपण पनि महाशाखाले गरेको थियो।
महाशाखाको पूर्वानुमानपछि बिहीबारदेखि नै नागढुंगा-नौबिसे सडकमा रातको समयमा यात्रा नगर्न स्थानीय प्रशासनले चेतावनी जारी गर्यो। त्यसपछि नागढुंगाबाट काठमाडौं बाहिरिने सवारी साधनहरूलाई प्रहरीले चेक पोइन्ट अगाडि नै रोक्यो ।
काठमाडौंबाट बाहिरिने लामो दूरीका सवारी साधनहरूलाई बसपार्कमै रोक्न भनियो। ठूला ठूला मालबाहक सवारी साधनहरू भने प्रहरीले नागढुंगाबाट अघि बढ्न दिएको थिएन। निजी सवारी साधनहरूलाई पनि फर्काइदिएको थियो। यद्यपि पृथ्वी राजमार्ग हुँदै काठमाडौं आउने सवारी साधनहरूलाई भने राजमार्गमा रोक्न सम्भव भएन।
बिहीबार नागढुंगा नजिकैको सडक पहिरिएपछि भने पृथ्वी राजमार्ग हुँदै काठमाडौं भित्रने सवारी साधन तलै रोकिए। शुक्रबारदेखि वर्षाले रौद्र रूप लियो।
अवरोध छिचोल्दै काठमाडौँतर्फ आउँदै गरेका सवारीसाधन नागढुङ्गाको ओरालोको जाममा फसे । सानातिना पहिरा त्यसअघि नै खसिसकेका कारण सवारीसाधन अघि बढ्न सकेनन् ।
काठमाडौँ र धादिङको सीमाना झ्याप्ले खोलामा अन्य क्षेत्रमा जस्तै सवारीसाधन लामबद्ध थिए । सकड सवारीसाधनले भरिभराउ थिए । रातिमा सवारीसाधन अघि बढ्न सकेनन् । शनिवार बिहान ४ बजे नागढुङ्गाभन्दा केही सय मिटर परबाट खसेको पहिरो झ्याप्ले खोलामा अड्किएका सवारीसाधनमा बजारियो । ठाडो भीर भएकाले सिधा तल एकैचोटी पहिरो खस्यो । माथिल्लो सडकको सिमेन्ट पर्खाल नै भत्काएर पहिरो खस्यो । उक्त ठाउँ नागढुङ्गा सुरुङमार्गभन्दा केही वर पिप्लामोडपट्टी पर्छ ।
स्थानीय नानु लामाका अनुसार त्यहाँबाट बचाउ/बचाउ भनिएका आवाज सुनिएको थियो। नानु लामा नजिकै सानो पसल चलाउँछिन्।
'पहिरो गाडीमाथि खस्यो । अघिल्तिर रहेका साना सवारीसाधनमा रहेका केहीलाई हामीले तानेर बचायौँ, अन्य ठूला सवारीसाधनमाथि पहिरो खसिसकेको थियो, बचाउ बचाउ भन्ने आवाज आइरहेको थियो, हामीले बचाउन सक्ने अवस्था थिएन । पसल नै बगाउने डरले हामी पिप्लामोडतर्फ भाग्यौं,' उनले भनिन्।
त्यसपछि उनीहरूले प्रहरीलाई खबर गरेका थिए। लगातारको वर्षा र अवरूद्ध बाटोका कारण प्रहरी ढिला पुग्यो।
'त्यसपछि केके भयो थाहा भएन, धेरैपछि आउँदा त यस्तो घटना भइसकेको देख्यौँ”, उनले भनिन्।
प्रहरी नायव उपरीक्षक सूर्य सुवेदी सडकको अवरोध हटाउन ठूलो सङ्घर्ष गर्नुपरेको बताउँछन्।
घटनास्थल पुग्दा कारूणिक दृश्य थियो। सवारी साधन क्षतिविक्षत भएका थिए । पहिरोबाट निकालिएको शव चिन्न सकिने अवस्थामा थिएनन्। केही शवहरू गाडीभित्रैबाट निकालिएको थियो।
आइतबार दिउँसोसम्म पहिरोमा पुरिएका ३५ जनाको शव निकालियो। दुर्घटनास्थलमा यात्रुका आफन्तहरूको दिउँसैसम्म भीड थियो। उनीहरू मलिन अनुहारसहित आफ्ना प्रीयजनको पर्खाइमा देखिन्थे।
झ्याप्ले खोला ठूलो खोला होइन । त्यहाँ बर्खाको बेलामा मात्रै हल्का पानी देखिन्छ। नागढुंगा-नौबिसेको घुम्ति सडक माथिल्लो भागबाट तल्लो भाग स्पष्ट देखिन्छ।
पहिरो माथिल्लो सडक भासिएर सुरू भएको देखिन्छ। त्यहाँबाट क्रमशः सोहोर्दै तल्लो सडकमा आइपुग्दा माटोका ठूलो थुप्रो झ्याप्ले खोलामा थुपरिएको हो। (रासस)