कहाँबाट आएका थिए झ्याप्ले खोलामा पुरिएका चार गाडी, कहिले खुल्छ सडक ?
सडक दुईतर्फी खुल्न समय लाग्नेकाठमाडौं, असोज १४ । झ्याप्ले खोलामा गाडी पुरिएको घटना शनिबार राति मात्रै खुल्यो। जबकी शुक्रबार बिहानदेखि हिँडेका गाडीहरू पहिरोमा परेका थिए।
शनिबार अपराह्न पुरिएको बसको भाग देखिएपछि सुरक्षाकर्मीहरूले त्यहाँ खोजी सुरू गरेका थिए। साँझ अबेर पत्ता लाग्यो त्यहाँ बससँगै विंगर जिप पनि पुरिएको थियो।
सशस्त्र प्रहरीका अनुसार बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ज ४५७८ नम्बरको विंगर जिप, चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको बा ३ ख १३४५ नम्बरको जम्बो हायस पहिरोमा पुरिएको थियो।
शनिबार नै त्यहाँबाट १४ वटा शव निकालेर परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको थियो।
बुटवलबाट काठमाडौं आउँदै गरेको विंगर जिपमा ८ जना पुरूष, ५ जना महिला र एक बच्चा गरी १४ जना सवार थिए। त्यस्तै चितवनबाट काठमाडौं आउँदै गरेको हायसमा १२ पुरूष र ४ महिला सवार थिए। उनीहरू सबैको मृत्यु भएको छ।
शनिबार बिहान पुरिएको भेटिएको ना ४ ख २२७० नम्बरको बस गोरखाबाट आएको खुलेको छ। त्यसमा सवार ५ जनाको मृत्यु भएको छ। उनीहरूको शव पनि घटनास्थलबाट निकालिसकिएको छ।
बा १ प १३८८ नम्बरको बस भने कहाँबाट आएको भन्ने खुलेको छैन।
यसरी झ्याप्ले खोलाबाटै दुई दिनमा ३५ जनाको शव निकालिएको छ। त्यहाँ अरू पनि सवारी साधन पुरिएको हुनसक्ने आकलनमा आइतबार दिनभरि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गरेको थियो।
पहिरोका कारण रोकिएका सवारी साधनहरूमध्ये अत्यावश्यक सवारी साधनहरूलाई शनिबार देखि नै नागढुंगा सुरूङमार्गबाट काठमाडौं पठाइएको थियो। प्रहरीका अनुसार २५ सय हाराहारीमा यात्रुहरूलाई सुरूङमार्गबाट काठमाडौं प्रवेश गराइएको थियो।
अहिले त्यहाँको पहिरो पन्छाउने काम तीब्र गतिमा अगाडि बढिरहेको छ।
प्रहरीका अनुसार आइतबार राति देखि नै सडक एकतर्फी खुल्ने सम्भावना छ। माथिबाट ठूलो पहिरो खसेकाले सडक दुईतर्फी खुल्न भने समय लाग्ने बताइएको छ।