Kathmandu Press

काठमाडौंमा ५३ वर्षयताकै ठूलो वर्षा

यसअघि कहिले-कहिले भएको थियो घनघोर वर्षा ?
काठमाडौंमा ५३ वर्षयताकै ठूलो वर्षा

काठमाडौं, असोज १३ । काठमाडौंमा शनिबार २४ घन्टाको अवधिमा ५३ वर्ष यताकै ठूलो वर्षा भएको खुलेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको हावापानी विश्लेषण शाखाले आइतबार सार्वजनिक गरेको विवरण अनुसार काठमाडौंमा रेकर्ड ब्रेक वर्षा भएको हो।

काठमाडौं उपत्यका बिहीबार रातिदेखि शनिबार बेलुकासम्म लगातार वर्षा भएको थियो।

Hardik ivf

असोज १२ गतेदेखि चौबिस घन्टाको अवधिमा काठमाडौंको पानी पोखरी मापन केन्द्रले २०६.६ मिलिमिटर वर्षा मापन गरेको छ।

त्यसदिनको वर्षा सन् १९७१ यताकै ठूलो वर्षा रहेको महाशाखाले जनाएको छ। सन् १९७१ को १४ जुनमा पानीपोखरीमा १०८ मिलिमिटर वर्षा मापन भएको थियो।

त्यसअनुसार शनिबारको वर्षा ५३ वर्षयताकै रेकर्ड ब्रेक वर्षा रहेको पुष्टी भएको छ।

काठमाडौंकै त्रिभुवन विमानस्थलमा शनिबार २३९.७ मिलिमिटर वर्षा भएको थियो। त्यसअघि  २३ जुलाई २००२ मा १७७ मिलिमिटर वर्षा भएको थियो।

बूढानीलकण्ठ मापन केन्द्रमा शनिबार १७८.३ मिलिमिटर वर्षा भयो। यसअघि सन् २३ जुलाई २००२ मा १५९ मिलिमिटर वर्षा मापन भएको थियो।

त्यस्तै जितपुरफेदीमा पनि पाँच वर्षयताकै रेकर्ड ब्रेक वर्षा मापन भएको छ। महाशाखाका अनुसार शनिबार जितपुरफेदी मापन केन्द्रमा १७८.३ मिलिमिटर वर्षा मापन भएको थियो। यसअघि सन् २०१९ को जुलाई ७ मा १२८.२ मिलिमिटर वर्षा भएको थियो।

काठमाडौंकै नागार्जुन मापन केन्द्रमा शनिबार चौबिस घन्टाको अवधिमा २०५.४ मिलिमिटर वर्षा भयो। सो परिमाण १० वर्षयताकै ठूलो वर्षा भएको महाशाखाले पुष्टी गरेको छ ।

१० वर्षअघि सन् २०१४ सेप्टेम्बर १३ मा १४७.५० मिलिमिटर वर्षा भएको थियो।

प्रकाशित मिति: १८:०९ बजे, आइतबार, असोज १३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्