लहरीलहरी लहरहरूमा सपना सजाउँदैछन्, माझी दाइ
पोखरा, फागुन १७ : उनको नाउँ सबिन लामा, तर उनलाई प्रायःले माझी दाइ भन्छन् । कतिले माझी भाइ ।
यी माझी दाइ माछा मार्दैनन्, डुंगा मात....
पोखरा, फागुन १७ : उनको नाउँ सबिन लामा, तर उनलाई प्रायःले माझी दाइ भन्छन् । कतिले माझी भाइ ।
यी माझी दाइ माछा मार्दैनन्, डुंगा मात्रै चलाउँछन् । पर्यटकीय सहर पोखरा घुम्न आएकाहरूलाई डुंगामा राखेर फेवातालको शयर गराउनु उनको रोजीरोटी हो ।
सबिनको घर ललितपुर हो । दुई जिउकी आमा बच्चा जन्माउन नसक्दा बितिन् । त्यतिबेला उनी १२ वर्षका थिए । एउटा सरकारी स्कूलमा ६ कक्षामा पढ्दै थिए । आमा बितेपछि स्कूल जान पनि बन्द भयो । बुवा बेरोजगार । खान–लाउन नपुगेपछि उनी हिँडे, पैसा कमाउन ।
काठमाडौं आएर होटेलमा भाडा माँझ्न थाले । साहुले दुई छाक खान दिन्थे । महिनामा दुई–तीन सय पाउँथे । त्यतिले कहाँ पुग्थ्यो ! रहरहरू कहर भएर बर्सिएपछि उनी १३ वर्षकै उमेर भारत पसे – सपनाको झिटिगुन्टा बोकेर ।
गोवा – समुद्रको किनारमा बसेको झिलिमिली बगर । जुठो भाडा माझेर महिनाको पाँच सय भारू थाप्न थाले । नयाँ ठाउँ, नयाँ भाषा । एक वर्ष बित्यो तर सबिनको सपना अझै टाढा थियो ।
सपनाहरूले ऐंठन पार्न छोडेन । त्यही ऐंठनले उनलाई मुम्बई पुर्यायो । महिनाको पन्ध्र सय भारूमा पसिना साटे । फेरि त्यही जुठो भाडाको लावालस्कर ।
चार वर्षको बसाइँपछि सबिन नेपाल आए । साथीभाइ, नलनाता, छरछिमेक – सबै विदेश गएको देख्दा उनलाई पनि विदेश जाने रहर भो । बिर्सिए भारत पनि विदेश हो भन्ने !
दश ठाउँमा हात जोरेर बुवाले एक लाख रूपैयाँ ऋण जोरजाम गरे । यताउताबाट बीस हजार । दलाललाई सबै बुझाएर उडे मलेसिया ।
‘त्यो म्यानपाओरको नाम त ठ्याक्कै बिर्सें । तिनिहरूले त मलाई दलालीसँग पो पठाएको रै’छ । दुई हजार रिंगिट तलब हुन्छ भन्थ्यो । पुगेपछि त पाँच सय पो दियो । त्यतिखेर मलेसियाको पाँच सय नेपालको १२ हजार जति हुन्थ्यो क्यारे,’ सबिन सुनाउँछन् ।
त्यसपछि के हुन्थ्यो र ! टन्न पैसा कमाएर ऋण तिर्ने, घर बनाउने – सबै सपना चकनाचुर । सँगै काम गर्ने साथीहरूलाई बह पोखे । उनीहरूले पनि अर्काे कम्पनीमा लुकिछिपी काम गर्ने सल्लाह दिए । त्यस्को बन्दोबस्त पनि गरे । त्यसरी नै दुई वर्षसम्म लुकेर काम गरे ।
काम गर्नु त के थियो र ! सधैं डर त्रासले छोपिरहन्थ्यो । कतिबेला पुलिसले समाउने हो ! थाहापत्तो नहुने । त्यसपछि त जेलनेल खै के के हो के के । तर उनी हार खाएनन् । भाग्यवश, बचे अनि दुई वर्षपछि नेपाल फर्किए ।
अलिकलि कमाएको पैसाले ऋण तिरे । सानो घर पनि ठड्याए । गाउँघरमा कमाइ हुने बाटो नपाएपछि फेरि लागे मलेसिया – रिंगिटले नै तान्यो ।
मासिक पच्चिस सय भनेर गएको दुई हजार मात्रै पाए । त्यो पनि ६ महिना नबित्दै कम्पनी बन्द भयो । पैसा पनि डुब्यो, सपना पनि डुब्यो ।
‘मलाई विदेशले पुग्यो । जस्तो भए पनि नेपालमै काम गर्छु । महिनाको एक हजारै भए पनि नेपालमै काम गर्छु भनेर आएँ ।’
‘यी अहिले फेवातालमा डुंगा चलाउँछु ।’
‘दिनमा यति नै हुन्छ भन्ने छैन । महिनामा कहिलेकाहीँ ३० हजार पनि कमाउँछु । कहिले २० हजार पनि हुन्छ । तर, जे होस विदेशभन्दा नेपालमै डुंगा चलाउँदा–चलाउँदै सबिनले धेरै साथी पनि बनाएका छन् । नेपाली र विदेशी । उनीहरूले सबिनको फोन नम्बर लगेका छन् । पोखरा आउँदा उनलाई फोन गर्छन् । उनकै डुंगा चढ्छन् । अनि खुसीले टिप्स पनि दिन्छन् ।
डुंगा चलाउँदा डर लाग्दैन ?
‘लाग्छ नि कहिलेकाँही । सबै मान्छे राम्रा हुदैनन् । कोही सेल्फी खिच्न उठ्छन् । कोही आफैं डुंगा चलाउन खोज्छन् । त्यतिबेला डुंगा पल्टियो भने ? फेवातालमा झ्याम्मै ।’
‘कसैले तालको बारेमा सोध्छन् । रमाइला कुरा गर्छन । कति चाँहि भनेको टेर्दैनन् अनि मलाई पनि रिस उठ्छ ।’
हावाहुरी चल्दा डुंगा चलाउदा समस्या हुने भएपनि अरूबेला रमाइलो नै हुने गरेको उनले बताए ।
नेपालमा रोजगार नै छैन । कसरी कमाउनु । केही छैन । विदेशिनुभन्दा अर्काे विकल्प नै छैन भन्नेहरूले सबिनले भेटे हुन्थ्यो भन्ने लाग्छ ।