गोदावरीमा हिउँको टेडी बेयर
काठमाडौं, फागुन १६ः ललितपुर, गोदावारीका वासिन्दाहरूले बिहीबार बिहान सुखद आश्चर्यको अनुभूति गरे । उनीहरूको घर–आँगनमै बाक्लो हिउँ जमेको थियो ।
बुधब....
काठमाडौं, फागुन १६ः ललितपुर, गोदावारीका वासिन्दाहरूले बिहीबार बिहान सुखद आश्चर्यको अनुभूति गरे । उनीहरूको घर–आँगनमै बाक्लो हिउँ जमेको थियो ।
बुधबार ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी पर्यटन मन्त्री रवीन्द्र अधिकारी लगायत ७ जनाको मृत्यु भएको शोकमा सरकारले सार्वजनिक विदाको घोषणा गरेकोले विद्यालयहरू बन्द थिए । यसैले, अरु बेला विहानैदेखि विद्यालय जाने चटारोमा हुने बालबालिकाहरू घर–आँगनमा थुप्रिएको हिउँ खेल्न थाले ।
कोही हिउँका डल्ला एक–अर्कालाई हान्दै थिए । कोही चाहिँ हिउँको टेडी बेयर बनाएर रमाउँदै थिए । एक स्थानीयले भने, ‘पहिले हिउँ अलि माथि डाँडामा मात्रै पर्थ्यो, आज भने तल हाम्रो घर–आँगनमै पर्याे ।’
गोदावरीमा हिउँ पर्दा काठमाडौं उपत्यका वरपरका पहाडहरू त सेताम्मे हुने नै भए । ललितपुरको जावलाखेलबाटै सेताम्मे डाँडाहरू प्रष्टसँग देखिन्थे । चन्द्रागिरि त हिउँले छपक्कै ढाकिएको थियो ।