अब विदेशी नागरिक पनि मुद्दामा वारिस हुन पाउने
ललितपुर जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको इजलासले मंगलबार फैसला गर्दै विदेशी नागरिकलाई वारिस हुन पाउने बाटो खुला गरिदिएको हो। फैसलाले अब नेपालमा विदेशी नागरिकले पनि निर्बाध वारिस हुन पाउने बाटो खोलिदिएको छ।काठमाडौं, असोज ९ : जिल्ला अदालत ललितपुरले कुनै मुद्दा मामिलामा विदेशी नागरिक पनि वारिस हुन पाउने गरी बाटो खोलिदिएको छ।
अदालतको उक्त फैसला कार्यान्वयन भए अब विदेशी नागरिकले पनि नेपालमा चलेका मुद्दा मामिलामा वारेश भई मुद्दाको प्रतिरक्षा गर्न पाउने छन्।
विदेशी नागरिकता लिएको व्यक्तिले मुद्दामा वारेश बस्न पाउने कि नपाउने भन्दै ललितपुर अदालतमा लामो समयदेखि चलेको एक मुद्दामा फरक खालको फैला आएपछि न्याय क्षेत्रमा यतिबेला चर्चाको बिषय समेत बनेको छ।
यसअघि सर्वोच्च अदालतले रास्वपाका सभापति एवम् पुर्व गृहमन्त्री रवि लामिछानेविरुद्धको नागरिकता विवादमा अमेरिकाको नागरिकता लिएपछि स्वघोषित रूपमा आफंैले नागरिकता त्यागेको घोषणा गरी अर्को नागरिकता प्राप्तीका लागि जिल्ला प्रसासन समक्ष निवेदन दिनुपर्नेमा प्रक्रियामा नगएको कारण सांसद र मन्त्री पद नै खारेज हुने नजिर स्थापित गरिसकेको छ।
बुद्ध एयर प्रालिका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतविरुद्ध प्रतिवादी अर्चना बस्नेतसमेत चार जनालाई विपक्षी बनाउँदै ‘दूषित वारिसनामा बदर’ मुद्दामा यस्तो फैसला आएको हो।
ललितपुर जिल्ला अदालतका न्यायाधीश पुनाराम खनालको इजलासले मंगलबार फैसला गर्दै विदेशी नागरिकलाई वारिस हुन पाउने बाटो खुला गरिदिएको हो। फैसलाले अब नेपालमा विदेशी नागरिकले पनि निर्बाध वारिस हुन पाउने बाटो खोलिदिएको छ।
जिल्ला अदालतको फैसला अनुसार आइन्दा कुनै नेपालीले अमेरिकाको नागरिकता लिएर नेपालमा चलेको मुद्दा मामिलामा आफ्नो पुरानै नागरिकता प्रयोग गर्दा पनि वारिस बदर नहुने अवस्था स्थापित गरिदिएको छ।
बुद्ध एयर प्रालिका सेयरधनी विदेशी नागरिक शिवानी बस्नेत र सेयरधनी अर्चना बस्नेतले बुद्ध एयरलाई विपक्षी बनाएर उच्च अदालत पाटनमा दायर गरेको मुद्दामा नेपाली मूलका अमेरिकी नागरिक शिवेन्द्रबहादुर बस्नेतलाई वारिस बनाइएपछि कानुनी विवादको जन्म भएको हो।
उक्त मुद्दामा वादीका तर्फबाट अमेरिकी नागरिक शिवेन्द्रलाई वारिस बनाइएको थियो । ‘दूषित वारिसना’ बदर गर्न बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत ललितपुर जिल्ला अदालत पुगेका हुन् । बादी बस्नेतका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, श्यामप्रसाद खरेल पूर्णमान शाक्य, महेश थापा र अधिवक्ता सन्तोषकुमार महतोले नेपालको मौजुदा कुनै पनि कानुनले विदेशी नागरिक वारिस हुन पाउने सुविधा नदिएको बताउँदै उक्त गैरकानुनी कार्य बदर हुनुपर्ने दलिल पेश गरेका थिए।
२०७३ सालमै अमेरिकाको नागरिकता लिइसके पनि उच्च अदालतमा वारिस दिँदा नेपाली नागरिकता प्रयोग गरेको प्रश्न बुद्ध एअरका सञ्चालक वीरेन्द्र बस्नेतका कानुनव्यवसायीले उठाएका थिए । बस्नेतले अमेरिका र नेपालको दोहोरो नागरिकताको प्रयोग गरिरहेको बताउँदै उच्च अदालतमा दिएको वारिसनामामा नेपाली पुरानो नागरिकता प्रयोग भएको तथ्य नागरिकता नम्बरले पुष्टि गरेको दाबीसमेत पेश गरेका थिए।
तर प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सतिस खरेल, रमेश गुरागाई र अधिवक्ता समिर शर्मा, सिर्जन गुरागाई र मनोजकुमार यादवले विदेशी नागरिक पनि मुद्दामा वारेश बस्न मिल्ने भन्दै दाबी पेश गरेका थिए। अदालतले अन्तिम विदेशी नागरिकलाई वारिस बस्न पाउनेगरी निर्णय दिएको छ।
फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९ (५)(ख) र अनुसूची ३६ तथा मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १४६ र अनुसूची १३ अनुसार कुनै पनि विदेशी नागरिकलाई मुद्दाको पक्षले आफ्ना तर्फबाट वारिस नियुक्त गर्न नसक्ने व्यवस्था प्रश्ट छ।
यसका अलवा फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ८९ (५)(ख) मा वारिस हुने व्यक्तिको पूरा नाम, थर, टोलसहितको ठेगाना र उमेर, नागरिकता नम्बर र नागरिकता लिएको जिल्ला उल्लेख हुनुपर्ने किटान गरिएको छ।
कानुनमै मुद्दाको साक्षीका हकमा नेपाली वा विदेशी नागरिक जो पनि हुनसक्ने भए पनि वारिसका हकमा नागरिकता नम्वर नै उल्लेख गर्नुपर्ने हुँदा नेपाली नागरिक मात्र वारिस हुन योग्य हुने स्पष्ट व्यवस्था छ।
ललितपुर अदालतका न्यायाधीश खनालले विदेशी नागरिकलाई वारिस हुन बाधा नहुने ‘स्प्रीट’ मा निर्णय दिएका छन् । बादी पक्षको फिरादपत्रमा शिवेन्द्र अमेरिकन पासपोर्ट र नागरिकता लिइसकेका व्यक्ति भएको भए पनि वारिस नियुक्तिमा नेपाली नागरिकता प्रमाणपत्र नम्बर २९३३० राखेको प्रश्न अदालतमा उठाए पनि ‘दाबी नपुग्ने’ भन्दै मुद्दा नै राफसाफ गरिएको छ।
यद्धपी के कुन आधार र तथ्यका आधारमा उक्त फैसला भएको हो भन्ने बिषयमा व्याख्या विश्लेषणसहित अन्तिम फैसला आउन भने बाँकी छ । अन्तिम फैसला आएलगत्तै बुद्ध एअरका सञ्चालक वीरेन्द्र बस्नेत मंगलबार भएको फैसला उल्ट्याउन उच्च अदालत जाने भएका छन्।