मृगौलापीडित पत्रकार दियालीलाई श्रेष्ठले गरे १ लाख हस्तान्तरण
पुरस्कार बापतको उक्त रकम श्रेष्ठले वीर अस्पताल पुगेर स्वास्थ्योपचारका लागि दियालीलाई हस्तान्तरण गरेका हुन्।
काठमाडौं, भदौ ८ : मृगौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत पत्रकार पीबी दियालीलाई मंगलबार दृष्टि साप्ताहिकका सम्पादक शम्भु श्रेष्ठले १ लाख रुपैयाँ हस्तान्तरण गरेका छन्।
अग्रज पत्रकार श्रेष्ठ देवेन्द्र गौतम पत्रकारिता पुरस्कारबाट गत असोज ३ गते १ लाख रुपैयाँसहित सम्मानित भएका थिए। पुरस्कार बापतको उक्त रकम श्रेष्ठले वीर अस्पताल पुगेर स्वास्थ्योपचारका लागि दियालीलाई हस्तान्तरण गरेका हुन्।
स्वर्गीय वरिष्ठ पत्रकार देवेन्द्र गौतमको स्मृतिमा करेण्ट मिडिया एण्ड रिसर्च सेन्टरले स्थापना गरेको उक्त पुरस्कार यो वर्ष दृष्टि मिडियाका अध्यक्ष एवम् सम्पादकसमेत रहेका श्रेष्ठलाई सम्मान पत्रसहित एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गर्ने निर्णय गरेको थियो।
करेण्ट पब्लिकेशनले पनि पत्रकार दियालीको उपचारका लागि ५० हजार रुपैयाँ सहयोग गरेको छ । इटहरीका सक्रिय पत्रकार दियालीको दुवै मिर्गौला फेल भएपछि उनी उपचारका निम्ति आर्थिक समस्या झेलिरहेका छन् । दियालीको हालै वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको छ।












