जुम्लाका पाँच पालिका साक्षर घोषणा
जिल्लाका आठ स्थानीय तहमध्ये हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिका साक्षर घोषणा भएका हुन।जुम्ला, ७ असोज : जुम्लाको पाँच स्थानीय तह साक्षर घोषणा भएका छन्। जिल्लाका आठ स्थानीय तहमध्ये हिमा गाउँपालिका, सिञ्जा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातारासी गाउँपालिका र चन्दननाथ नगरपालिका साक्षर घोषणा भएको हो।
साक्षर घोषणा गर्न तोकिएका १२ सूचक पूरा गरी पालिकाका ९६ दशमलव दुई प्रतिशत नागरिक साक्षर भएपछि साक्षर घोषणा गरिएको सिञ्जा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए।
हस्ताक्षर गर्न सक्ने, सामान्य लेखपढ गर्नसक्ने, मोबाइल तथा क्याल्कुलेटर चलाउन सक्ने, आफ्नो भावना व्यक्त गर्नसक्ने जस्ता सूचक पूरा भएपछि सिञ्जालाई साक्षर घोषणा गरिएको शिक्षा शाखा प्रमुख शंकर धितालको भनाई छ।
हिमा गाउँपालिकाको कूल १२ हजार आठ सय जनसंख्यामध्ये १२ हजार दुई सय ५६ जना अर्थात् ९६ दशमलव पाँच प्रतिशत नागरिक साक्षर भएपछि पालिकालाई साक्षर घोषण गरिएको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाही बताउछन्। शिक्षक, सामाजिक परिचालक र कर्मचारी साक्षर नागरिकको तथ्यांक संकलनका लागि गाउँबस्तीमै पुगेर पालिकाको साक्षरदर सार्वजनिक गरेको अध्यक्ष शाहीको भनाइ छ।
कूल २१ हजार ३६ जनसंख्या रहेको चन्दनाथ नगरपालिकामा ९८ दशमलव ९१ प्रतिशत नागरिक साक्षर रहेका छन्। चन्दनाथ नगरपालिकाका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईंका अनुसार गत साउन महिनामा १५ देखि ६० वर्षमुनिको जनसंख्यालाई सर्वेक्षण गर्दा सामान्य लेखपढ गर्न नजान्ने तीन सय ८० जना मात्रै भेटिएका थिए। उक्त व्यक्तिलाई साक्षर बनाएसँगै नगरपालिकालाई साक्षर घोषणा गरिएको चन्दननाथको शिक्षा शाखा प्रमुख चौलागाईंले जनाएका छन्।
त्यस्तै पातारासी गाउँपालकामा ९५ दशमलव २४ प्रतिशत नागरिक साक्षर रहेका छन् । साक्षर घोषणा गर्न तोकिएका १२ मध्ये छ वटा सूचक पूरा भएपछि साक्षरता घोषणा गर्न मिल्ने प्रावधानअनुसार स्थानीय तहलाई साक्षर घोषणा गरिएको हो।
हाँको कनकासुन्दरी गाउँपालका भित्रका ९७ प्रतिशत नागरिक साक्षर रहेका छन्। गाउँपालिकाका तोकिएका १२ सूचकमध्ये ५० प्रतिशत सूचक पूरा भएपछि साक्षर पालिका घोषणा गर्न मिल्ने ऐनअनुसार कनकासुन्दरी गाउँपालका साक्षर घोषणा गरिएको गाउँपालकाका प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र भण्डारीले जानकारी दिए।