वर्तमान सरकार बनेपछि देशमा सकारात्मक सन्देश प्रवाह भएको छ : सभापति देउवा
‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ,’ सभापति देउवाले भने।काभ्रे, असोज ५ : नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार बनेपछि मुलुकमा सकारात्मक सन्देश गएको बताएका छन्।
काभ्रेको धुलिखेलमा निर्माण गरिएको महामानव बिपी कोइरालाको प्रतिमा अनावरण गर्दै उनले सत्ताका लागि कचकच भइरहेका बेला दुई ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेको सत्तासहकार्यको वर्तमान सरकारबाट मुलुकमा सकारात्मक सन्देश दिएको बताए।
‘दुई मुख्य प्रतिस्पर्धी पार्टी मिल्दा के हुन्छ भन्ने चिन्ता पनि देखिएको थियो, तर मैले थाहा पाएअनुसार देशभरिमा सबैबाट सकारात्मक सन्देश गएको पाएँ,’ सभापति देउवाले भने।
उनले कांग्रेस पार्टीलाई आगामी निर्वाचन पहिलो पार्टी बनाउने गरी मेहनत गर्न र जनताको कामलाई पनि सँगसँगै लैजान पार्टीका नेताकार्यकर्तालाई आग्रहसमेत गरे। उनले भने, ‘सत्ता सहकार्यले मात्रै हुँदैन, अब सबै मिलेर जनताको पक्षमा काम गर्नुपर्दछ।’
दुई पार्टीबीच सहकार्य गरी काम पनि सोहीअनुसार गर्नुपर्ने उनको जोड थियो। सभापति देउवाले ठट्यौली शैलीमा ‘कांग्रेसले कामै गर्दैनन्, गफ बढी गर्छन्’ भन्ने भन्ने भाष्यलाई चिर्दै धेरै काम गर्नुपर्ने बताए।
‘अब हामीले जनतासँगको सम्बन्ध बढाउनुपर्छ, उनीहरूको मन जित्नेगरी काम गर्नुपर्दछ, प्रदेश, जिल्ला तथा गाउँ एवं स्थानीयस्तरका विकास योजनामा मिलेर काम गर्नुपर्छ,’ उनले भने, ‘जनताको दुःख, पीर–मर्का बुझ्नुपर्दछ।’
सभापति देउवाले कांग्रेसलाई एक नंबरको पार्टी बनाउने इच्छा र उद्देश्य रहेको बताए। त्यसका लागि जनताको काममा लाग्न उनले सबैलाई आग्रह गरे।
हालको संविधान समावेशी र समानुपातिक प्रणाली भएकाले कुनै एउटा पार्टीको बहुमत प्राप्त गर्न गाह्रो भएको बताउँदै सभापति देउवाले भने, ‘तैपनि गाह्रै, अप्ठ्यारै भएपछि काम त गर्नुपर्यो नि ! त्यसको निम्ति हामीले धेरै मेहनत गर्यौं भने बहुमत प्राप्त गर्न सक्छौं।’
इतिहास मात्रै भजाएर नहुने भएकाले विकास निर्माण र जनताको काममा ध्यान दिनुपर्ने सभापति देउवाले दोहोर्याउनुभयो। उनले बिपी कोइरालाको इच्छाअनुसार गिरिजाप्रसाद कोइराला प्रधामन्त्री हुँदा बिपी राजमार्गको सुरुआत गरेको स्मरण गर्दै जापानको सहयोगमा बनेको यस बाटोले पूर्व जाने छोटो बाटो तथा ‘कनेक्टिभिटी’ बढाउन निकै महत्त्वपूर्ण भएको बताए।