Kathmandu Press

कुमार रम्तेलको बयान- रवि लामिछानेले सहकारीबाट १ करोड ९० लाख ऋण लिएका थिए

समस्या भयो भनेर जानकारी गराउँदा रवि लामिछानेले जिबीसँग कुरा गरिसकेको छु भन्नुभयो: कुमार रम्तेल
कुमार रम्तेलको बयान- रवि लामिछानेले सहकारीबाट १ करोड ९० लाख ऋण लिएका थिए
रास्वपा सभापति रवि लामिछाने र हाल कास्कीमा थुनामा रहेका कुमार रम्तेल।

सूर्यदर्शन र स्वर्णलक्ष्मी सहकारीका तत्कालीन कोषाध्यक्ष कुमार रम्तेलले रास्वपा सभापति एवम् पूर्व उपप्रधानमन्त्री रवि लामिछानेले सहकारीबाट पैसा लगेको दाबी गरेका छन्।

सहकारी बचत अपचलनसम्बन्धी संसदीय छानबिन समितिसँगको बयानका क्रममा रम्तेलले रवि लामिछानेले सुप्रिम सहकारीबाट १ करोड  ९० लाख ऋण लिएको दाबी गरेका हुन्।

रम्तेल सहकारी बचत अपचलन प्रकरणमा हाल कास्की कारागारमा थुनामा छन्। संसदीय छानबिन समितिले साउन २९ गते बिहान रम्तेलसँग बयान लिएको थियो। समितिको प्रतिवेदन शुक्रबार सार्वजनिक भएको छ।

Hardik ivf

प्रतिवेदनमा कुमार रम्तेलसँगको ११ पृष्ठको बयान समावेश गरिएको छ जसमा उनले रवि लामिछानेले सहकारीबाट ऋण लिएको ठोकुवा गरेका छन्। 

'सुप्रिम बचत तथा ऋण सहकारी संस्था बुटवलबाट मेरो नाममा करीब १ करोड ९० लाखको कृत्रिम ऋण खडा गरी करीब ७ लाख किस्ता तिरिएको ऋणी रवि लामिछाने र करीब १७ लाख किस्ता तिरिएको छविलाल बन्जाडे जोशीको किस्ता तिरिएको हो,' बयानमा उनले भनेका छन्।

सहकारीबाट ऋण निकाल्नका लागि ऋणी सम्बन्धित सहकारी सदस्य हुनुपर्छ। सदस्य नै नभएका व्यक्तिले ऋण लिनु र ऋण दिनु गैरकानुनी हो। लामिछाने सुप्रिम सहकारीमा सदस्य छैनन्। 

 यद्यपि लामिछानेले सहकारीबाट ऋण लिने रवि लामिछाने आफू नरहेको दाबी गर्दै आएका छन्। उनको दाबी पनि कुमार रम्तेलको बयानबाट खण्डित भएको छ। समितिले रम्तेललाई 'ऋण लिने रवि लामिछाने पूर्वगृहमन्त्री एवम् प्रतिनिधि सभाका सांसद रवि लामिछाने नै हुन् ?' भनी गरेको प्रश्नमा रम्तेलले सहमति जनाएका छन्।

'ऋणी रवि लामिछाने पूर्व उपप्रधान तथा गृह मन्त्रि एवम् प्रतिनिधि सभाका माननीय सदस्य र करीब किस्ता तिरिएको छविलाल बन्जाडे जोशी पुर्व नायव महानिरीक्षक हुनुहुन्छ भन्नेमा म यकीन छु। सो ऋणको बाँकी रकम गोरखा मिडिया नेटवर्कको खातामा गएको देखिन्छ,' उनले भनेका छन्।

समितिले रम्तेललाई ऋणी वर्तमान सांसद तथा पूर्वउपप्रधानमन्त्री रवि लामिछाने नै हो भन्ने आधार प्रस्तुत गर्न भनेको थियो।

'मेरो नाममा खडा गरिएको ऋण कृत्रिम ऋण हो। मैले चिनेको रबि लामिछाने निज पूर्वउपप्रधान तथा गृहमन्त्री नै हुन् । मेरो नाममा खडा गरिएको कृत्रिम ऋणबाट किस्ता तिरी बाँकी रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.को खातामा जानुले पनि यो कुरा पुष्टि हुन्छ । त्यसैले उक्त रकम तिरिएको व्यक्ति पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने नै हुन् भन्ने कुरा म यकिन साथ भन्न सक्छु,' बयानका क्रममा रम्तेलले भनेका छन्।

बचतकर्ताले बचत फिर्ता माग्न थालेपछि सहकारीमा समस्या आएको र त्यसबारे रवि लामिछानेलाई पनि जानकारी गराएको रम्तेलले बताएका छन्। जवाफमा लामिछानेले त्यसबारेमा आफूले जिबी राईसँग कुरा गरिसकेको बताएको रम्तेलको बयानमा उल्लेख छ।

'निज रबि लामिछाने उहाको पर्टीको बुटवल-नारायणगढ़ पदयात्रामा हुँदा मैले दिपक बोहोराको मोबाइलमा सम्पर्क गरी उहाँसँग कुरा गर्दा सहकारी चलाउने र ऋण लिनेमा तपाईको कागजात र हस्ताक्षर नभएता पनि आजको स्थिति आउनमा तपाईको भूमिका छ समेत भनेको थिए । ग्यालेक्सी टिभीमा कम्तिमा ५ वर्ष काम गर्ने सहमति भएको र नियमित किस्ता तिरीरहेको अवस्थामा तपाईले ८ महिनामै छोडेका कारण समस्या भयो भन्दा उहाँले यस विषयमा जि.वि. राई सँग कुरा भइसकेको छ भन्नु भएको थियो,' बयानका क्रममा रम्तेलले भनेका छन्।

kumar-ramtel-bayan-1726837458.JPG
kumar-ramtel-bayan1-1726837504.JPG
 

प्रकाशित मिति: २०:३० बजे, शुक्रबार, असोज ४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्