Kathmandu Press

असोज ११ गते ‘ठमेल नखः’ महोत्सव हुने

विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ ।
असोज ११ गते ‘ठमेल नखः’ महोत्सव हुने

काठमाडौं, असोज ३ । विश्व पर्यटन दिवसका अवसरमा पर्यटकीय क्षेत्र ठमेलमा ‘ठमेल नखः’ महोत्सव हुने भएको छ ।

ठमेलको पर्यटनलाई चलायमान बनाउने उद्देश्यले यही असोज ११ गते (सेप्टेम्बर २७ तारिखका दिन) महोत्सव आयोजना गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

ठमेल पर्यटन विकास परिषद् र दि काठमाडौँ पोष्टको सहकार्यमा आयोजना हुने महोत्सवमा संस्कृति, सङ्गीत, कला र खानाको संयोजन रहने महोत्सवका संयोजक राजीव पाण्डेले बताए । उत्सवको जीवन्त वातावरणमा स्थानीय र यात्रुहरुलाई एकसाथ ल्याउन कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

Hardik ivf

विगतमा कर्मचारी सञ्चय कोष अगाडि मात्रै आयोजना गरिने कार्यक्रमलाई यो वर्ष व्यापक बनाई ठमलेका विभिन्न सात क्षेत्रमा केन्द्रित रहनेछ ।

 जसअनुसार कर्मचारी सञ्चयकोष परिसरमा सांस्कृतिक उत्सव, नरसिंह चोकमा कान्तिपुरकला, पर्यटन मार्गमा चङ्गाहरुले भरिएको आकाश, सात घुम्तीमा स्वादिष्ट यात्राका साथै मय थाई खेलाडीले मार्सल आर्ट प्रस्तुत गर्नेछन् । त्यस अवसरमा साङ्गीतिक दबूः, टयाटु उत्सवलगायत कार्यक्रम गरिने परिषद्ले जनाएको छ ।

ठमेललाई पर्यटनको जीवन्त केन्द्रका रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले विगतभन्दा पृथक ढङ्गले पर्यटन दिवसलाई महोत्सवका रुपमा मनाउन लागिएको परिषद्का अध्यक्ष ध्रुव अधिकारीले बताए।

उनले महोत्सवले ठमेलको प्रमुख पर्यटकीय गन्तव्यको हैसियत बढाउने र साझा प्रतिबद्धता झल्काउने विश्वास व्यक्त गरे।  

रेष्टुरेन्ट तथा बार एशोसिएसन (रेबान) का अध्यक्ष सङ्घर्ष विष्टले महोत्सवका माध्यमबाट ठमेलको जीवन्त संस्कृति, पाककलाको प्रस्तुतिले पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे।

महोत्सव बिहान १० बजेदेखि राति १० बजेसम्म चल्नेछ । महोत्सवका लागि करिब रु १८ लाख खर्च लाग्ने तथा १० हजार बढीले महोत्सवको अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ।

पर्यटकीय याम सुरु भएका सन्दर्भमा महोत्सवलगायत गतिविधिले मुलुकको पर्यटन बढोत्तरीमा टेवा पुग्ने जनाइएको छ ।

प्रकाशित मिति: १९:२६ बजे, बिहीबार, असोज ३, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्