दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालित
‘कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि पाँच हजार सुरक्षाकर्मी परिचालन गर्नका लागि व्यवस्थापन मिलाएका छौँ। कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे कारबाही हुनेछ,’ उनले भने।काठमाडौं, असोज ३ : संविधान दिवसका अवसरमा आज काठमाडौंको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने भएका छन्।
आजको ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले राससलाई जानकारी दिए।
‘कन्सर्टमा आउने हरेक व्यक्तिलाई सुरक्षा दिनेगरी कम्तीमा पनि पाँच हजार सुरक्षाकर्मी परिचालन गर्नका लागि व्यवस्थापन मिलाएका छौँ। कन्सर्ट स्थलको वातावरण बिगार्न खोजे कारबाही हुनेछ,’ उनले भने।
दरबारमार्गमा आज साँझ ४ बजेदेखि ‘नेसनल डे कन्सर्ट’को आयोजना हुँदैछ।
कन्सर्टको सुरक्षा कमान्ड जिल्ला प्रहरी काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक रजौरेले गर्ने तथा कन्सर्ट स्थलमा परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीलाई खटाउने गरी सुरक्षा योजना तयार गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
नागरिक स्तरबाट आयोजित कन्सर्ट सञ्चालन गर्न सरकारले समन्वय र सहजीकरण गरेको छ। उक्त कन्सर्टमा प्रधानमन्त्री केपी ओली सहभागी हुने छन्। हिजोदेखि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरिएको छ।
आज बेलुकी ८ बजेसम्मका लागि केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई जमलतर्फ, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरुलाई कृष्णपाउरोटीतर्फ र महेन्द्रसालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरुलाई घण्टाघरतर्फ ‘डाइभर्सन’ गरिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।