संवैधानिक स्वतन्त्रताको उपभोग गरी भविष्य सुरक्षित गर्नुपर्दछ : प्रधानमन्त्री
संविधान दिवसको अवसरमा शुुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गरेका छन्।काठमाडौं, ३ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानले दिएको स्वतन्त्रताको उपभोग गरेर भविष्य सुरक्षित गर्नुपर्ने बताएका छन्।
संविधान दिवसको अवसरमा शुुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले दशकौं लामो संघर्ष र सयौंको बलिदानको फलस्वरूप जनता आफैंले आफ्ना लागि तय गरेको शासन प्रणाली र जनताले चुनेको संविधानसभाले संविधान निर्माण गरेको उल्लेख गरेका छन्।
प्रधानमन्त्री ओलीको शुभकामना संदेशमा भनिएको छ–‘संविधानले सबैलाई अधिकारसम्पन्न बनाएको छ । सबैखाले विचार, समुदाय, भूगोल, लिङ्ग, जाति र धर्मका भावनालाई यसले संरक्षण गरेको छ । यसको संरक्षण गरेर मात्र हामीले उपभोग गरेका अधिकारको रक्षा हुन सक्छ । जनताले लामो समयसम्म भोगेको निरंकुशता आजको पुस्ताले पनि बिर्सनु हुँदैन । यो स्वतन्त्रता गुमेको दिन कस्तो हुन्छ भन्ने सम्झदा हाम्रो मस्तिष्कमा समाजलाई निरंकुशताले नियन्त्रण गरेको दुई दशक अगाडिको चित्र आउँछ।’