Kathmandu Press

मिडियालाई रविले भने– मलाई नंग्याउने निहुँमा आफूलाई नाङ्गो नपार्नुस्

‘मेरो केही चिन्ता छ। म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु। देशको पत्रकारितालाई जोगाउनुस्। मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस,’उनको भनाइ छ । 
मिडियालाई रविले भने– मलाई नंग्याउने निहुँमा आफूलाई नाङ्गो नपार्नुस्

काठमाडौं, असोज १ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को राष्ट्रिय भेला मंगलबारबाट काठमाडौंमा सुरु भएको छ। भेलालाई सम्बोधन गर्दै सभापति रवि लामिछानेले सञ्चारमाध्यमहरुलाई भ्रमको खेती नगर्न आग्रह गरेकाछन्। 

सहकारी रकम अपचलन सम्बन्धमा छानविन गर्न गठित संसदीय छानविन विषेश समितिले आफूलाई लाग्दै आएको मुल आरोप पुष्टि हुने आधार नदेखिएको प्रतिवेदन दिएपनि केही सञ्चार माध्यमहरु भ्रमको खेती गरिरहेको टिप्पणी गरे।

कुनैदिन गोलीसँग नडराएर पुर्खाले देश जोगाएको उल्लेख गर्दै लामिछानेले आफूहरु गाली खान नडराउने स्पष्ट पारे। त्यस्तै, सभापति लामिछानेले अरुलाई नंग्याउने निउँमा आफूहरु नाङ्गो नबनाउन सञ्चारमाध्यमलाई आग्रह गरे। 

‘मेरो केही चिन्ता छ। म सञ्चारकर्मी साथीहरुलाई यस राष्ट्रिय भेलाबाट अपिल गर्न चाहन्छु। देशको पत्रकारितालाई जोगाउनुस्। मलाई नंग्याउने निउँमा तपाईहरु नाङ्गो नहुनुहोस,’उनको भनाइ छ । 

सहकारीको रकम अपचलनमा आफ्नो संलग्नता नभएको तर गोर्खा मिडिया नेटवर्क सञ्चालकको भूमिकामा कमजोरी भए कारबाही गर्नु भनिएको सत्यलाई केही मानिसहरुले स्वीकार्न नसकेको उनले बताए। 

‘संसदीय छानविन समितिले मुल आरोपका बारेमा स्पष्टसँग मेरो संलग्नता नरहेको बतायो। तर, केही मानिसहरु मलाई डेढ वर्षदेखि सहकारी ठगीको आरोप लगाइरहेका थिए। समितिले यस किसिमको संलग्नतामा रवि लामिछानेको संलग्नता छैन भनेर स्पष्टसँग भनेको छ। तर भ्रमको खेती गर्नेहरुलाई त्यो स्पष्टतासँग सरोकार छैन,’ उनले भने, ‘सहकारी ठगीमा, सहकारीको रकम अपचलनमा रवि लामिछानेको संलग्नता देखिएन। पुष्टि हुन सकेन। त्यसपछि गोर्खा मिडिया नेटवर्कमा गएको पैसामा जिम्मेवार हुनुपर्छ, कारबाही भोग्नुपर्छ भनिएको छ।’

प्रकाशित मिति: ११:३० बजे, मंगलबार, असोज १, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्