मेटमणि चौधरीमाथि देशद्रोहीको मुद्दा लगाउन एमाले सांसदको माग
‘सदनबाट सर्वसम्मत पास भएको विषयलाई यो नेपालको भू–भाग होइन भनेर यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहीको मुद्दा लगाउन आग्रह गर्न चाहन्छु,’ प्रतिनिधिसभा बैठमा उनले भने।
काठमाडौं, भदौ ३१ : नेकपा एकीकृत समाजवादीका नेता तथा सांसद मेटमणि चौधरीमाथि देशद्रोहीको मुद्दा लगाउन एमाले सांसद सूर्यप्रसाद ढकालले माग गरेका छन्।
केही दिनअघि एक अन्तर्वार्ताका क्रममा चौधरीले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भूभाग नभएर भारतको भूभाग भएको बताएका थिए। सोही अभिव्यक्तिका कारण सांसद ढकालले चौधरीमाथि देशद्रोहीको मुद्दा लगाउन र छानबिन गरी कारबाही गर्न माग गरेका हुन्।
‘सदनबाट सर्वसम्मत पास भएको विषयलाई यो नेपालको भू–भाग होइन भनेर यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्रोहीको मुद्दा लगाउन आग्रह गर्न चाहन्छु,’ प्रतिनिधिसभा बैठमा उनले भने।
यस्ता अभिव्यक्ति राष्ट्रघाती, संविधान विरोधी, देशद्रोही भएको बताउँदै उनले त्यस्ता अभिव्यक्तिले राष्ट्रिय स्वतन्त्रता र भौगोलिक अखण्डतालाई खण्डित गर्ने बताए।
‘एकजना पूर्वमन्त्रीले एउटा सञ्चारमाध्यममा आफ्ना विचार राख्ने क्रममा कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपालको भू–भाग होइन, भारतको भू–भाग हो भन्ने विचार व्यक्त गर्नुभएछ । यो संविधान विरोधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु,’ उनले भने।











