कास्कीमा डेंगीबाट तीनको मृत्यु, ३७ सयबढी संक्रमित
आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो।कास्की, भदौ ३१ : कास्कीमा डेंगी संक्रणबाट तीनजनाको मृत्यु भएको छ। पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ।
कार्यालयका भेक्टर कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ।
आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो।
यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो। पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेंगीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए।
जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेङ्गीको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ। स्वास्थ्य कार्यालयले डेंगीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका सङ्क्रमितसमेत रहेको जनाएको छ।
संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग संक्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन्। स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे।
पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताए।