झापाबाट प्रचण्डको घोषणा- अगामी निर्वाचन झापाबाटै लड्छु
यस्तै उनले केपी ओलीलाई विश्वास गर्नु गम्भीर गल्ती भएको पनि बताए। ओली नसुध्रिएको बताउँदै उनले उनीजस्तै अनैतिक, बेइमान र भ्रष्टहरुको संरक्षक अरु कोही नभएको बताए।झापा, भदौ ३० : पूर्वप्रधानमन्त्री एवं नेकपा मोओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले २०८४ सालको निर्वाचत झापाबाटै लड्ने बताएका छन्।
आइतबार बिर्तामोडमा प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले झापामा माओवादीप्रति आकर्षण बढेको बताउँदै आगामी निर्वाचनमा झापाबाट नै टक्कर दिने मनस्थिति सृजना भएको बताए।
‘जित सत्य र न्यायको हुन्छ कि बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु,’ उनले भने, ‘तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन् भन्ने अपेक्षा छ ।’
अध्यक्ष दाहालले जनतामा माओवादीको क्रेज बढ्न थालेपछि प्रतिक्रियावादी शक्तिहरू पार्टी फुटाउने प्रयासमा लागेको बताए। तर, यो नयाँ कुरा भने नभएको बताउँदै उनले ति प्रयासहरूलाई निरर्थक बनाएको उल्लेख गरे।
उनले स्थायी कमिटीको बैठकले फुटवादी मानसिकतालाई सधैंको लागि अन्त्य गरेको छ बताउँदै आफूहरु एकढिक्का मात्र होइन, बाटो बिराएर अन्यत्र गएका साथीहरु पनि चाँडै एकिकृत हुने बताए।
यस्तै, अध्यक्ष दाहालले आगामी निर्वाचनबाट माओवादी मुलुककै ठुलो दलका रुपमा उदाउने दाबी गरे।
२०६४ सालमा माओवादीलाई मत दिएका मतदाताको जिल्ला तहका नेतालाई मनोविज्ञान बुझ्न उनले निर्देशन दिए। उनले ०६४ मा मत दिने जनतासँग माफी माग्न, विदेश गएका नागरिकको सूची तयार गर्न र ०६४ को निर्वाचनका समयमा नाबालक रहेका जनताको मनोविज्ञान अध्ययन गरेर उनीहरूको अपेक्षा अनुसार अगाडि बढ्न कार्यकर्तालाई निर्देशन दिए।
उनले जनयुद्ध गरिरहेको माओवादीलाई नेपाली राजनीतिको मुलधारमा कांग्रेस र एमालेले ल्याएको भनेर गलत प्रचार गरिरहेको बताउँदै उनले कांग्रेस र एमालेको अस्तित्व माओवादीले जोगाइदिएको बताए।
यस्तै उनले केपी ओलीलाई विश्वास गर्नु गम्भीर गल्ती भएको पनि बताए। ओली नसुध्रिएको बताउँदै उनले उनीजस्तै अनैतिक, बेइमान र भ्रष्टहरुको संरक्षक अरु कोही नभएको बताए।