Kathmandu Press

तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। 
तीन दिनदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ, भदौ ३० : बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर आएको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिकै पहिरो आउँदा सडक अवरुद्ध भएको हो।

शुक्रबार साँझदेखि आएको पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्। 

पहिरो निरन्तर आइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालन गर्न नसकिएको सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले जानकारी दिए। उनले केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो झर्ने क्रम नरोकिएकाले सडक सञ्चालन हुन नसकेको बताए।

सहायक प्रजिअ जोशीका अनुसार शनिबार बिहानैदेखि अहिलेसम्म पहिरो पन्छाउनका लागि दुई वटा जेसिबी पहिरो गएका स्थान नजिक राखिएका छन्।

‘माथिबाट पानीसहितको लेदो आइरहेकाले शनिबार दिनभर सञ्चालन गर्न सकिएन। पहिरो रोकिएपछि मात्रै सडक खुलाउने प्रयास गर्नेछौं,’ उनले भने।

शुक्रबार कैलाली तथा कञ्चनपुरबाट आएका यात्रु सामान बोकेर स्थानीय जिपमा गन्तव्यतिर गएका छन् भने बझाङबाट तराई छिर्ने सवारीका यात्रुहरु परिङाल नजिकैपर्ने बालुवाटारमा रोकिएका छन्।

गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो ।

प्रकाशित मिति: १६:३० बजे, आइतबार, भदौ ३०, २०८१
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्