जो यती झै एक मिथक थिए
काठमाडौं, फागुन १६ : पर्यटन र हवाई क्षेत्रका हस्ती आङ छिरिङ शेर्पाको नाउँ नसुन्नै सायदै कोही होलान् । तर, उनलाई देख्ने–भेट्ने नेपालीहरू चाहिँ एकदमै कम छन् । उनको....
काठमाडौं, फागुन १६ : पर्यटन र हवाई क्षेत्रका हस्ती आङ छिरिङ शेर्पाको नाउँ नसुन्नै सायदै कोही होलान् । तर, उनलाई देख्ने–भेट्ने नेपालीहरू चाहिँ एकदमै कम छन् । उनको तस्वीर देख्नेहरू पनि खासै धेरै छैनन् ।
यति एयरलाइन्सका मालिक शेर्पा धेरै नेपालीका लागि मिथकीय हिम मानव यती झै आफैमा एक मिथक थिए, जसको मेहनत र सफलताको किस्सा त जताततै सुन्न सकिन्थ्यो तर उनलाई देख्न–भेट्न चाहिँ साँच्चै मुश्किल थियो ।
छोटो समयमै पर्यटन र हवाई व्यवसायमा एउटा साम्राज्य खडा गरेका शेर्पाको बुधवार ताप्लेजुङ हेलिकप्टर दुर्घटनामा परी निधन भयो । उनको शव आज बिहीबार काठमाडौं ल्याइयो ।
प्रायः गुपचुप रहन रुचाउने शेर्पाले कहिल्यै कुनै विषयमा सार्वजनिक टिका टिप्पणी गरेनन् ।
अन्तर्वार्ताका लागि मिडियाले गर्ने हरेक अनुरोधलाई भद्रताका साथ पन्छाए । आफ्नो लगानी र व्यवसायबारे अनेकौ समाचार आउँदा पनि सार्वजनिक प्रतिक्रिया दिएनन् । पर्यटन क्षेत्रमा सक्रिय दर्जनौ संघ–संस्थाहरूले शेर्पालाई अध्यक्ष–महासचिव हुन आग्रह गरे । तर, उनले त्यी सबै आग्रहलाई बिनम्रताका साथ पन्छाए ।
आङ छिरिङ शेर्पा शक्तिको पछि लाग्दैन थिए, बरू शक्ति केन्द्रहरू नै उनको पछि लाग्ने उपाय खोज्दै हिँड्थे ।
शेर्पाले चर्चामा नआई नै २० वर्षको छोटो अवधिमा लोभलाग्दो प्रगति गरे । सायद नेपालमै बस्ने कुनै अर्को नेपालीले उनले जति व्यवसायिक उन्नति गर्न सकेका छैनन् ।
पर्यटन व्यवसायी सुमन पान्डे ‘लो प्रोफाइलको हाइ विजनेश’ गर्न रुचाउने स्वभाव शेर्पाको भएको बताउँछन् । ‘आङ छिरिङ शेर्पा एडभेञ्चर पर्यटनका पायोनियर हुन्,’ पाण्डे भन्छन्, ‘उनी जहिले पनि नयाँ नयाँ–नयाँ बिजनेश आइडियाहरू लगाइरहेका हुन्थे ।’
धेरैले शेर्पालाई शक्तिको पछि लाग्ने गरेको आरोप लगाउने गरेका थिए । प्रधानमन्त्री केपी ओलीसँगको उनको निकटता कसैबाट छिपेको थिएन । तर, उनलाई नजिकबाट चिन्नेहरू भन्छन् – आङ छिरिङ शेर्पा शक्तिको पछि लाग्दैन थिए, बरू शक्ति केन्द्रहरू नै उनको पछि लाग्ने उपाय खोज्दै हिँड्थे ।
५८ वर्षअघि सोलुखुम्बुको जिल्लाको जुविङ गाउँ (हाल पासाङ ल्हामु गाउँपालिका) मा जन्मेका आङ छिरिङ शेर्पाको परिवारले हवाई दुर्घटनाको वेदना सहनु परेको यो पहिलो घटना होइन । उनका भाइ आङ टेण्डी शेर्पाको पनि सन् २००१ मा हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएको थियो । उनका दाइ लाक्पा सोनाम शेर्पा पनि हेलिकप्टर दुर्घटनामा परेर मुश्किलले बाँचेका थिए । लाक्पा सोनामकी श्रीमती र आङ छिरिङकी भाउजू पासाङ ल्हामू शेर्पाको सगरमाथा चढेर ओर्लने क्रममा मृत्यु भएको थियो ।
पहिलो नेपाली महिला सगरमाथा आरोही पासाङ ल्हामुका साँहिला देवर आङ छिरिङ शेर्पाले सन् १९९८ मा ट्रेकिङ व्यवसाय सुरु गरेका थिए । यो २० वर्षे अवधिमा उनले यति एयरलाइन्स, तारा एयर, हेलिकप्टर कम्पनी र दर्जनौ रिसोर्टदेखि थुप्रै व्यवसायमा पनि सफलता हात पारे ।
सन् २०१९ सम्म आइपुग्दा शेर्पाले निजी क्षेत्रको पहिलो नेपाली अन्तर्राष्ट्रिय विमान कम्पनीको रुपमा हिमालय एयरलाइन्स स्थापना गरी अन्तर्राष्ट्रिय सेवा दिन सफल भएका छन् ।
एयरलाइन्स खुल्दै, बन्द हुँदै गरेको अवस्थामा शेर्पाले आँट गरेर खोलेको यति एयरलाइन्स अहिले नेपालकै सफल निजी विमान कम्पनीमध्ये एक हो । यतिको सफलताको श्रेय उनैलाई जान्छ । उनले यतिकै अनुदानमा तारा एयर खोलेर ती विकट हिमाली र पहाडी क्षेत्रमा हवाई सेवा दिए, जहाँ राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले समेत सेवा दिन सकेको छैन ।
२० वर्षमा एकछत्र व्यवसाय
आङ छिरिङ शेर्पाले सन् १९८८ मा आफ्नै दिदीको शेर्पा सोसाइटी कम्पनीको महाप्रबन्धकको रुपमा व्यवसाय सुरु गरेका थिए । केही समय पछि उनले दाजु लाक्पा सोनाम शेर्पासँग मिलेर थामसेर्कु ट्रेकिङ कम्पनी खोले । दाजुसँगै मिलेर केही समय पछि एयरलाइन्समा हात हाले ।
सन् १९९८ मा सुरु भएको यति एयरलाइन्सले अहिले एक हजारभन्दा बढी नेपालीलाई प्रत्यक्ष रोजगार दिएको छ । सुरुमा दाजुकै जिम्मामा एयरलाइन्स थियो । पछि दाजुले थामसेर्कु बाहेक सवै कम्पनीको जिम्मा भाइलाई दिए ।
यतिको स्थापनापछि उनले पछाडि फकेर हेर्नु परेन । उनले जोखिम माेलेर खोलेको हिमालय एयरलाइन्समा उनको ५१ प्रतिशत सेयर छ । विश्वमै चर्चित गोकर्ण रिसोर्टमा उनको लगानी छ ।
चितवनको कसरा रिसोर्ट पनि शेर्पाले आफै सञ्चालन गरेका हुन् । सोलखुम्बुमा रहेको उनको यति माउन्टेन होम चर्चित रिसोर्ट हो, जहाँ विदेशीहरु काठमाडौंबाट हेलिकप्टर चार्टर गरेर कफी खान पुग्छन् । बुधबार दुर्घटनामा परेको एयर डाइनेस्टी हेलिकप्टरमा समेत बहुमत सेयर शेर्पाकै रहेको छ ।