Kathmandu Press

विर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा

विर्तामोडमा जुत्ता–चप्पल मेला, दुई करोडको कारोबार हुने अपेक्षा

काठमाडौं, भदौ २५ः झापाको विर्तामोडमा मंगलबारदेखि दोस्रो जुत्ता चप्पल मेला सुरु भएको छ। मेलाको विर्तामोड नगरपालिकाका मेयर पवित्रा महातारा प्रसाईले उद्घाटन गरेकी छन्।

मेयर प्रसाईंले विदेशी सामानको प्रयोगभन्दा स्थानीय स्रोत साधनलाई प्राथमिकता दिनुपर्ने बताइन्। उनले मुलुकको आर्थिक समृद्धिका लागि स्वदेशी उत्पादनमा उपयोगमा जोड दिन आग्रह गरिन्।

Hardik ivf

विर्तामोडको सिटी सेन्टरमा सञ्चालन भइरहेको मेलामा नेपालका पाँचवटा कम्पनीको तीन हजार मोडलका जुत्ता चप्पल आकर्षक स्किमका साथ बिक्रीका लागि राखिएका छन्। विर्तामोड सिटी सेन्टरले आयोजना गरेको मेलाको सह–आयोजक नेपाली जुत्ता घर रहेको छ।

‘नेपाली उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नारासहित आयोजना भएको मेलामा बीएफ डियर हिल, फस्ट वाक सुज, रन सुज, स्मार्ट सुज र क्रस रोड सुज गरि ५ वटा कम्पनीको २५ वटा स्टल छन्।

मेला संयोजक होमनाथ उपाध्यायका अनुसार चाडपर्व लक्षित क्याजुअल सुज, स्पोर्टस सुज, पार्टी सुज, स्कुल सुज, फुटबल सुज, फुटसल सुज तथा बच्चाका सुजहरु उपलब्ध छन्। एक महिनासम्म सञ्चालन हुने मेलामा एक लाख अवलोकनकर्ता आउने तथा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा आयोजकको रहेको छ।

गत वर्ष आयोजना भएको मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता भएपछि आयोजकले यस वर्ष पनि मेला आयोजना गरेको हो। गत वर्ष पुस ९ गतेदेखि माघ १५ गतेसम्म महोत्सव आयोजना भएको थियो।

मेलामा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध हुने आयोजकले जनाएको छ। यसका अतिरिक्त खरिदकर्तालाई विशेष उपहार दिइने उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति: १९:५१ बजे, मंगलबार, भदौ २५, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्