Kathmandu Press

कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसको समर्थन, माओवादीले लियाे समर्थन फिर्ता

कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र कांग्रेसले प्रदेश सभामा दर्ता गराएको छ। 
कोशीका मुख्यमन्त्री कार्कीलाई कांग्रेसको समर्थन, माओवादीले लियाे समर्थन फिर्ता

काठमाडौं, भदौ १४ : एमाले नेता हिक्मत कार्की नेतृत्वमा रहेको कोशी प्रदेश सरकारलाई नेपाली कांग्रेसले समर्थन गर्ने भएको छ। कार्की नेतृत्वको सरकारलाई समर्थन गरेको पत्र कांग्रेसले प्रदेश सभामा दर्ता गराएको छ। 

कांग्रेसले प्रदेश सभा सचिवालयमा पत्र दर्ता गरेलगत्तै यता माओवादी केन्द्रले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएको छ। 

केन्द्रमा कांग्रेस–एमाले सत्ता गठवन्धन गरेपछि मुख्यमन्त्री हिक्मत कार्की नेतृत्वको सरकारमा रहेका माओवादी मन्त्रीहरूले गत साउन ११ मा पदबाट राजीनामा दिए पनि माओवादीले समर्थन भने कायमै राखेको थियो। 

माओवादीले प्रदेश सभा सचिवालयमा पत्र लेखेर औपचारिक रुपमा समर्थन फिर्ता लिएको हो।

माओवादीले समर्थन फिर्ता लिएपछि अब मुख्यमन्त्री कार्कीले संविधानतः ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ। कोशीमा ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ जना सांसद आवश्यक पर्छ। 
 

प्रकाशित मिति: १४:३६ बजे, शुक्रबार, भदौ १४, २०८१
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्