युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्छ : मन्त्री भट्टराई
मन्त्री भट्टराईले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने जनशक्तिको मात्रै विकास गरेकाले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताइन्।
ललितपुर, भदौ १३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले युवा जनशक्तिलाई मुलुकमा टिकाउने गरी काम गर्नुपर्ने बताएका छन्।
नाडा अटोमोवाइल्स एशोसियशन अफ नेपाल, होटल एशोसियशन नेपाल र नेपाल उद्योग परिसंघले संयुक्तरूपमा आयोजना गरेको शिक्षा र रोजगारी सम्बन्धमा राष्ट्रिय गोष्ठीमा मन्त्री भट्टराईले नेपालले अन्तर्राष्ट्रिय श्रम बजारमा पठाउने जनशक्तिको मात्रै विकास गरेकाले शिक्षासँग उद्यमशील र श्रमको समन्वय नहुँदा युवा पलायन हुने समस्या भएको बताइन्।
‘शिक्षा र उद्योग सँगसँगै गएनन भने अब देशको विकास हुनसक्दैन। यसका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य गरी नीति निर्माण गर्न छलफल गरिरहेका छौं,’ उनले भनिन्, ‘अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्नसक्ने क्षमता भएका यहाँ योगदान गर्ने जनशक्ति तयार गर्न सकेनौँ, यसमा सरकारको ध्यान गएको छ।’
मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले बनाउने पाठ्यक्रममा ज्ञान, सीप र कलालाई श्रम तथा समाजसँग जोड्ने गरी निर्माण गरिनुपर्ने उल्लेख गर्दै सरकार त्यसतर्फ ध्यान दिएर अगाडि बढेको बताइन्।
शिक्षा, उद्योग र श्रम मन्त्रालयबीच सहकार्य र समन्वय गरी काम गर्ने उनले बताइन्। व्यावसायिक शिक्षा प्रदान गर्ने अभिप्रायले २०४५ सालमा स्थापित सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्नेमा उनको जोड थियो।
‘त्यतिबेलाको आवश्यकता अहिलेको अवस्थासँग समय सान्दर्भिक रहेको देखिँदैन, समय धेरै परिवर्तन भएको छ, नयाँ प्रविधिको विकास भएको छ,’ उनले भनिन्, ‘अब सिटिइभिटीको पुनःसस्थापना गरिनुपर्छ, यसका लागि संसदमा विद्येयक प्रस्तुत गर्ने तयारी भएको छ।’
उद्यमशीलतासँग विद्यालय तहदेखिको शिक्षालाई जोडन बजेट र नीति तथा कार्यक्रममा पनि समावेश गरिएको उनले जानकारी गराइन्।












