‘रास्वपा धार्मिक सहिष्णुता भंग गर्न उद्धत भयो’
बजगाईंले टुँटिखेलमा भएको गौरा पर्वको कार्यक्रममा भएको नाराबाजीमा दलका व्यक्तिहरूको पनि उपस्थिति भएको भन्दै त्यो गौरा पर्वमाथि आक्रमण भएको बताए।
काठमाडौं, भदौ १३ : नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धार्मिक सहिष्णुता भंग गर्न उद्धत रहेको आरोप लगाएका छन्।
बिहीबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै बजगाईंले टुँटिखेलमा भएको गौरा पर्वको कार्यक्रममा भएको नाराबाजीमा दलका व्यक्तिहरूको पनि उपस्थिति भएको भन्दै त्यो गौरा पर्वमाथि आक्रमण भएको बताए।
उनले गौरा पर्वको अवसरमा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गर्नेलाई रिहा गर्न माग गरेकोप्रति आपत्ति जनाएको छन्।
बुधबारको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद हरि ढकालले बोल्दै टुँडिखेलमा विरोध गर्दा पक्राउ गरेकाहरूलाई छाड्न माग गरेका थिए।
‘टुँडिखेलमा गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा घुसपैठ भएको थियो भन्न सकिन्छ। तर, प्रतिपक्षमा बसेका सांसद साथीहरूले त्यहाँ प्रदर्शन गर्नेहरूका रिहाइको माग गर्नुभयो,’ सांंसद बजगाईंले भने, ‘दलका व्यक्तिहरूको पनि उपस्थिति देखिएको कुरा आएको छ। त्यो गौरा पर्वमाथि आक्रमण गरेको कि नेपाल सरकार नेपालको प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको हो? यो धार्मिक सहिष्णुता भंग गर्ने जुन दल उद्धत छ त्यो दलमाथि प्रश्न गर्छु।’
यस्तै, सांसद बजगाईंले नागरिक उड्डयन प्राधिकरणका डिजी आफ्नो मान्छे भएको भन्दै जोगाउन रास्वपाको सहमहामन्त्री आफूकहाँ आएको बताए। संसदमा रास्वपाकै सांसदहरूले क्यानका विषयमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएको बताउँदै रास्वपाले दोहोरो चरित्र देखाएको बताए।
‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ। करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्व दर्ता गराउनुभएको छ,’ उनले भने, ‘यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो र क्यानका डिजी जोगाउन भन्नुभयो। रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्यो भन्दै अचानक आउनुभयो।’
उनले जनताको भरोसा भनिएको नयाँ पार्टीले डबल स्ट्यान्डर्ड गर्छ भनेर आंफूले कहिले नसोचेको बताए। उनले यो द्वैध चरित्रले देश कहाँ पुग्छ भनेर समेत प्रश्न गरे।
‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ। यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ,’ उनले भने।












