सिटिइभिटीको पाठ्यक्रम समय अनुसार निर्माण गरिनुपर्छ : मन्त्री भट्टराई
मन्त्री भट्टराई वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरु भइरहेको बताइन्।
काठमाडौं, भदौ १३ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन्।
बिहीबार काठमाडौंमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सिटिइभिटी सम्बन्धी नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन्।
‘सिटिइभिटीलाई पुनःसंरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुननिर्माण गर्न नसकेपनि कम्तिमा सिटिइभिटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ,’ उनले भने, ‘विचाराधिन रहेको ऐनमा पनि सुझावदिन सकिन्छ। सिटिइभिटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ। यसको लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौं।’
मन्त्री भट्टराई वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरु भइरहेको बताइन्।
युवाहरुलाई देशमा राख्नको लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाई छ।












